मोरङ, वैशाख २ गते ।
विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत सम्राट स्पोर्टिङ क्लब विराटनगर विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराट गोल्ड कप फुटबल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालाको ‘फ्लडलाइट’मा (रात्रिकालीन) नकआउट आधारमा मङ्गलबार सम्पन्न खेलमा सम्राटले भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ गोलअन्तरले पराजित गर्दै समिफाइनलमा प्रवेश गरेको छ ।
विर्सामुण्डाका शङ्कर किस्कुले ४४आँै मिनेटमा गोल गरेका थिए भने खेलको ५०औँ मिनेटमा सम्राटका मौसम लिम्बू, ८६औँ मिनेटमा प्रताप तामाङले गोल गरे । खेलको अतिरिक्त ९इन्जुरी० समयमा प्रताप तामाङले पुनः दोस्रो गोल गर्दै टोलीलाई ३–१ को अन्तरले विजयी बनाएका छन् । उत्कृष्ट प्रदर्शन गरेका प्रताप तामाङ प्लेयर अफ द म्याच घोषित भई नगद रु ११ हजार प्राप्त गरेका छन् ।
प्रतियोगिता आगामी २०८३ वैशाख ५ गतेसम्म हुने र नेपाल र भारतका गरी आठवटा टोलीले भाग लिएका छन् । विराटनगर गोल्ड कपको ३८औँ संस्करणमा विजेता हुने टिमले ११ लाख, उपविजेताले पाँच लाख, उत्कृष्ट प्रशिक्षकलाई रु १५ हजार, उत्कष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार, सर्वोकृष्ट खेलाडीलाई ५१ हजार र दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार प्राप्त गर्ने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।





