आठ रात नौ दिन मनाइने बिस्केट जात्रा सम्पन्न



भक्तपुर, वैशाख ५ गते ।

भक्तपुरमा आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सम्पन्न हुँदैछ । गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको यो जात्रा आज सम्पन्न हुनेछ ।

जात्राअन्तर्गत आज अन्तिम दिन दिउँसो ४ः०० बजे गःहिटीबाट भैरवको रथ तानेर जात्रा सम्पन्न गर्ने गुठी कार्यालय भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले जानकारी दिए । आज अपराह्नसम्म सबै पूजा सम्पन्न हुनेगरी सुरु गरिने जनाउँदै उनले ४ः०० बजेदेखि भैरवको रथ तानेर जात्रा सम्पन्न हुने बताए ।

आजसम्म जात्रा शान्तिपूर्ण रूपमा सञ्चालन भएको बताउँदै प्रमुख कर्माचार्यले आज रथ तान्ने क्रममा कुनै अप्रिय घटना नभए यस वर्षको जात्रा शान्तिपूर्ण हुने उल्लेख गरियो ।

आज लागि दुई हजार सुरक्षाकर्मी परिचालन

रथ तान्ने क्रममा रथलाई तौमढीबाट माथि र तल लैजाने क्रममा झडप वा विवाद हुनसक्ने भएकाले यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज दुई हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी गेपालप्रसाद अर्यालले बिस्केट जात्रामा हूलदङ्गा हुन नदिन र शान्तिपूर्ण रूपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा गरिएको बताए ।

उनले भने, “रथ दिउँसो ४ः०० बजे तान्ने कार्यक्रम छ । जात्रामा सिसी क्यामराबाट प्रहरीले अनुगमन गरिरहेको हुन्छ । जात्रामा खटिएका सादा पोसाकमा सुरक्षाकर्मीले पनि मोबाइलबाट तस्बिर र श्रव्यदृश्यबाट अनुगमन गरिरहेको हुन्छ । स्थानीयको जात्रा भएकाले जात्रामा अवरोध नगर्ने गरी सुरक्षाकर्मी पछाडि बस्छ, हुलदङ्गा भयो भने र आवश्यकता हेरेर मात्रै सुरक्षाकर्मी अगाडि जाने व्यवस्था गरेका छौँ ।”

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले सुरक्षाका लागि जात्रामा आज दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनले जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आह्वान गर्दै झडप भए मात्रै प्रहरी जात्रास्थल पुग्ने बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली खटाइएको जानकारी दिँदै उनले जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हूलदङ्गा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने उनले बताए । जात्राका लागि काठमाडौँबाट समेत थप प्रहरीको मद्दत ल्याएको बताउँदै सादा पोसाकमा सुरक्षाकर्मी जात्राका लागि खटिएको उनले उल्लेख गरियो ।

Scroll to Top