महोत्तरीका गाउँमा भरतपुर आँखा अस्पतालको निःशुल्क उपचार केन्द्र



जनकपुरधाम, वैशाख ६ गते ।

चितवनको नेत्र ज्यौती संघद्वारा संचालित भरतपुर आँखा अस्पतालको उपचार सेवा अब महोत्तरीको ग्रामिण भेगमा पनि सुरु भएको छ । महोत्तरीको चारवटा पालिकाको संगम स्थल पर्सादेवाडमा स्थित जानकी एकेडेमिक हस्पिटलमै यो सेवा प्रारम्भ भएको हो ।

भरतपुर आँखा अस्पतालको प्रावधिकि तथा अन्तरपालिकाहरुको सहयोगमा जानकी एकेडेमिक अस्पतालमा अन्तरपालिका आँखा उपचार केन्द्रको शनिबार मधेशका सभामुख रामअशिष मण्डल र जानकी एकेडमिक अस्पतालका संचालक डा। सुरेन्द्र यादवले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।

गत फागुन २१ गतेदेखि अनौपचारिक सेवा सुरु भएपनि शनिबारबाट शल्यक्रियासहितको औपचारिक सेवा सुरु गरिएको हो । आँखा उपचार केन्द्रमा भरतपुर आँखा अस्पतालका आँखा विशेषज्ञसहितको ९ जनाको टोलिले शनिबारबाहेक ओपीड, शल्यक्रिया लगायतको आँखाको सम्पूर्ण उपचार सेवा निःशुल्क प्रदान गर्ने जनाएको छ ।

उद्घाटन समारोहमा भरतपुर आँखा अस्पतालका व्यवस्थापन समिति अध्यक्ष जयराम श्रेष्ठ, सचिव केशव अधिकारी, पर्यावरण अभियन्ता सुरेश शर्मा लगायत विभिन्न पालिका प्रमुख, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता रहेको थियो ।

अन्तरपालिका आँखा उपचार केन्द्रलाई रामगोपालपुर नगरपालिका, सम्सी गाउँपालिका, सोनामा गाउँपालिका, औरही नगरपालिका, मनरा नगरपालिका, एकडारा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

ग्रामिण क्षेत्रमा संचालनमा आएको आँखा उपचार केन्द्रले सर्वसाधारणले सहज सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

Scroll to Top