राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना



चितवन, वैशाख १५ गते ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका अनधिकृत अतिक्रमण हटाउन १५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

निकुञ्ज प्रशासनले मध्यवर्ती वन, मध्यवर्ती सामुदायिक वन, कबुलियती वन, मध्यवर्ती क्षेत्रभित्र पर्ने सडक, खोला तथा नदी किनार क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका संरचना र गरिएको खेतीपाती हटाउन निर्देशन दिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार सो क्षेत्रभित्र पर्ने सडक, खोला तथा नदी किनारका वन क्षेत्रमा अनधिकृत रूपमा घर, टहरा, पिकनिक स्थल र मचानजस्ता संरचना निर्माण गरिएको पाइएकाले यस्तो कदम चालिएको हो । सूचनामा ती क्षेत्रमा गरिएको खेतीपाती १५ दिनभित्र खाली गर्न भनिएको छ ।

निकुञ्जले मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ को नियम १७ ९क० अनुसार वन क्षेत्र अतिक्रमण, नियन्त्रण वा फँडानी गर्नु कानुन विपरीत भएको स्पष्ट पारेको छ ।

तोकिएको समयभित्र अतिक्रमित संरचना नहटाएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

सूचनाको अवज्ञा गर्नेलाई बिगो कायम भएको अवस्थामा बिगोको दोब्बर जरिवाना र एक वर्षसम्म कैद तथा बिगो कायम नभएको अवस्थामा कसुरको मात्राअनुसार रु २० हजारसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ ।

सूचना अधिकारी थापाले पछिल्लो समय निर्माण गरिएका अनधिकृत संरचना सम्बन्धित पक्षले स्वयं हटाउनका लागि सूचना जारी गरिएको बताए । उनले भने, “निर्धारित समयभित्र आफैँ नहटाएमा निकुञ्ज प्रशासनले कानुनबमोजिम ती संरचना हटाउनेछ ।”

Scroll to Top