द पब्लिक टुडे
गौशाला, वैशाख १८ गते ।
जनकपुरधामको एक अस्पतालमा शल्यक्रिया गर्न भर्ना भएकी महिलाको मृत्यु भएपछि मृतकका आफन्तहरू अस्पतालमा तोडफोड गरेका छन् ।
जनकपुरको कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा बुधबार साँझ पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रियाका भर्ना भएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीका ३६ वर्षीया रागनी देवी पासवानको मृत्यु भएको छ ।
यता शुक्रबार बिहान ३ बजे मृत्यु भएकी पासवानको उपचारमा लापरबाही भएको परिवारले आरोप लगाएको छ । आक्रोशित परिवारजन र आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।
मृतकका ससुरा दयाराम पासवानका अनुसार गाउँकै स्वास्थ्यकर्मी राम पुकारको सल्लाहमा बुहारीलाई गत वैशाख ७ गते चेक जाँचको लागि यो अस्पतालमा ल्याइएको थियो । त्यसपछि चिकित्सक सर्जन अमरेश कर्णको सल्लाहकार बमोजिम १६ गते भर्ना गरी पित्त थैलीको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सर्जन कर्णको टोलीले गरेको थियो ।
ससुरा दयारामका अनुसार १ लाख २५ हजार रुपैयाँमा अस्पतालले ल्याप्रोस्कोपी विधिबाट पेटमा प्वाल गरी पत्थरी झिक्ने कुरा भएको थियो । तर चिकित्सकले पेट चिरेर शल्यक्रिया गरेर पत्तथैलीको शल्यक्रिया गर्दा मृत्यु भएको उनको आरोप छ ।
‘पित्तथैली र किड्नीबाट प्वाल पारेर शल्यक्रिया गर्ने कुरा भनेपछि यहाँ अप्रेसन गराएका हौं । त्यसैले १ लाख २५ हजारमा कुरा भएको थियो । तर डाक्टरले पेट चिरेर अप्रेसन गरेपछि बुहारीको मृत्यु भएको हो,’ ससुरा दयारामले भने, ‘पैसा प्वनल पारेर अप्रेसन गरेको लियो । तर पेट चिरेर गर्यो । चिरेर अप्रेसन गराउने कुरा भएको भए गराउने नै थिएनौं ।’
अप्रेसनमै लापरबाही भएको कारण बुहारीको मृत्यु भएकाले डाक्टर र अस्पताललाई कारबाही र क्षतिपूर्ति पाउनु पर्ने उनको माग छ ।
यता शल्यक्रियामा संलग्न चिकित्सक कर्णले युरेटरमा १३.७ एमएमको पत्थरी र किडनीमा सानो पत्थरी बिरामीलाई भएको पत्ता चलेपछि परिवारजन र बिरामीको सहमतिमै चिरुवा अप्रेसन गरेको बताए ।
‘शल्यक्रिया पित्त थैलीको मात्र भयो । किड्नीको भित्र गरेको भए जोखिम हुन्थ्यो । शल्यक्रिया पश्चात् बिरामीको अवस्था समान्य थियो। खाना पनि सुरु गरिएको थियो । आज जनरल वार्डमा सिफ्ट गर्ने सेडुल थियो,’ डा. कर्णले भने, ‘बिहीबार राति ११ बजेसम्म पनि अवस्था समान्य थियो । राति अचानक प्रेसर कम भयो । उपच हुँदैथियो । तर मृत्यु भयो ।’
मृत्यु घटनाबाट आफू पनि चकित भएको उनको भनाइ छ । ‘उपचारमा कुनै लापरबाही भएको छैन । मैलै धेरै शल्यक्रिया गरेको छु । तर मेरो जिवनमा यो पहिलो घटना हो’ उनले भने ।
घटनापछि अस्पतालको अवस्था बिहानैदेखि तनावग्रस्त बनेको छ । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । पोस्टमार्टम गराएर कानुनी प्रकृयामा जाने वा मिल्ने भन्ने कुरामा आफन्त र अस्पतालबीच छलफल भइरहेको छ । घटना मिलाउने प्रयास जारी छ ।
मृतकका श्रीमान राजु पासवान वैदेशिक रोजगारीमा छन् । उनका तीन छोराछोरी छन् ।





