पर्सा राष्ट्रिय निकुञ्जमा तयार भयो वन्यजन्तु उद्धार टोली



वीरगञ्ज, वैशाख २९ गते ।

पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि ‘वन्यजन्तु उद्धार टोली’ तयार पारेको छ।

विगतमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा कुनै वन्यजन्तु चोटपटक तथा घाइते भएर रेस्क्यु गर्नुपर्दा चितवन राष्ट्रिय निकुञ्जबाट वाइडलाइफ उद्धार टोली बोलाउनुपथ्र्यो।

तर, निकुञ्जले वैशाखको पहिलो सातादेखि भने निकुञ्जमा नै उद्धारटोलीको व्यवस्थापन गरेको छ। पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार पारेपछि घाइते भएका वन्यजन्तुको उद्धार र उपचारमा सहज भएको जानकारी दिए।

‘विगतमा वन्यजन्तु घाइते वा दुर्घटना हुँदा चितवन राष्ट्रिय निकुञ्जबाटै टोली बनाउनुपर्ने हुन्थ्यो,’ उनले भने, ‘तर,अहिले यहाँबाटै हुँदा धेरै सहज र छिटो उद्धार सम्भव भएको छ।’ सूचना अधिकारी भगतका अनुसार उद्धार टोलीमा पशु चिकित्सक, प्राविधिक, सवारी चालकलगायत रहेको बताए।

‘वन्यजन्तु घाइते तथा उद्धार गर्नुपर्ने अवस्था आएको खण्डमा बारा, पर्सा, रौतहट, मकवानपुरसम्म जाने गरेका छौं,’ उनले भने। कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म पाटेबाघ एक, चित्तल छ वटा, गोमनसर्प एक सयबाट उद्धार गरेको जनाएको छ।

त्यस्तैगरी किंग कोब्रा २५ वटा, अजिङ्गर १५ वटा, सालक एक वटा र अन्य वन्यजन्तु तीनवटा उद्धार गरेर उपचारपछि प्राकृतिक वासस्थलमा छाडेको निकुञ्जले जनाएको छ।

Scroll to Top