काठमाडौं, असार २० गते ।
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम साहले यसबारे जानकारी दिएका हुन्।
नयाँ सरकार बनेको सय दिन पुगेको अवसरमा सिंहदरबारमा शनिबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम गरिरहेको बताए।
उनले कार्यदलले सरोकारवाला निकाय, संविधानविद् र विभिन्न राजनीतिक दलहरूसँग छलफल गरेको बताए।
उनले भने, ‘संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम गरिरहेको छ। यसमा अब असारको मसान्त भित्रमा यसको प्रतिवेदन बुझाउने सम्माननीय प्रधानमन्त्री समक्ष बुझाउने हाम्रो कार्यक्रम रहेको छ। हामीले विभिन्न सरोकारवाला निकाय, संविधानविददेखि लिएर सबै जनासँग हामीले छलफल गरेका छौँ। विभिन्न राजनीतिक दलहरूसँग छलफल गरिरहेका छौँ र अब हामी एउटा लगभग प्रतिवेदन लेखन–लेखन तिरको अवस्थामा आइपुगेका छौँ र त्यो तयार भइसकेपछि हामीले यसको जानकारी गराउँछौं।’
संयोजक साहले प्रतिवेदन लेखनको चरणमा कार्यदल प्रवेश गरेको पनि बताए । न्युज एजेन्सी नेपाल





