खानेपानी संस्थालाई ऋणले च्यापेपछि…



दाङ, जेठ ३ गते ।

दाङको बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई ऋणले च्यापेपछि महसुल वृद्धि गरिएको छ । सङ्घको शनिबार भएको ११औँ साधारणसभाबाट महसुल वृद्धि गरिएको हो । संस्थाका सचिव मुकेश वलीका अनुसार यसअघि १२ हजार युनिटसम्मको एक सय रुपैयाँ थियो, तर अहिले त्यसलाई बढाएर एक सय ६० रुपैयाँ बनाइएको छ ।

संस्थाले सहलगानी सम्पन्न गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाबाट लिएको रु एक करोड १५ लाख सापटी, नगर विकास कोषबाट लिएको रु ६ करोड ८९ लाख २६ हजार ऋण लिएको थियो ।

जसमध्ये अहिलेसम्म नगर विकास कोषलाई सावाँ र ब्याज गरी एक करोड २६ लाख ३२ हजार ३९४ मात्रै तिरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको सापटी रकम तिर्नका लागि पनि ताकेता गरिरहेको छ । यसले गर्दा खानेपानीको महसुल बढाउनुपर्ने अवस्था आएको सचिव वलीले बताए ।

संस्थाको ३२ करोड छ लाख लागतमा सहलगानीको काम भएको हो । नेपाल सरकारको सहलगानी आयोजनाअन्तर्गत भएको काममा सरकारले ३० करोड ७३ लाख ६५ हजार उपलब्ध गराएको थियो । त्यसको २० प्रतिशत उपभोक्ताले तिर्नुपर्ने हुन्छ । त्यही उपभोक्ताले तिर्नुपर्ने रकमका लागि लिइएको ऋण तथा सापटी तिर्न निकै कठिन भएको छ । हाल खानेपानीको वार्षिक आम्दानी रु ७० लाख हाराहारीमा रहेको कोषाध्यक्ष वसन्त थापाले बताए ।

साधारणसभाले कार्यसमितिको कार्यकाल चार वर्ष बनाएको छ । यसअघि तीनवर्षे कार्यकाल थियो । त्यसलाई बढाएर चारवर्षे बनाइएको अध्यक्ष प्रदीप गौतमले बताए ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले साना खानेपानी संस्थाहरूलाई नजिकैको ठूलो खानेपानी संस्थामा मर्ज गर्ने बताए । त्यसो गर्दा नै राज्यको लगानी सही रूपमा सदुपयोग हुने उनको भनाइ थियो ।

Scroll to Top