महोत्तरी कारागारका दुई सय ५० कैदीबन्दी अझै फरार

File Photo



महोत्तरी, जेठ ५ गते ।

‘जेनजी’ आन्दोलनको मौका छोपी २०८२ साल भदौ २४ गते महोत्तरी कारागारबाट भागेका कैदीबन्दीमध्ये २५० जना कैदीबन्दी अझै फरार रहेका छन् ।

गत भदौ २३ र २४ गते देशभर चलेको जेनजी आन्दोलनको मौका छोपी भदौ २४ गते महोत्तरीको सदरमुका मजलेश्वर नगरपालिका–२ मा अवस्थित जलेश्वर कारागार तोडेर भागेका सबै ५७६ जना कैदीबन्दीमध्ये ३२६ जना फर्किसकेका छन् भने २५० जना अझै फर्किन बाँकी रहेको जेलर अशोककुमार क्षेत्रीले बताए ।

जेलर क्षेत्रीका अनुसार अझै पनि भागेका कैदीबन्दीहरू आउने क्रम जारी रहेको छ । जलेश्वर कारागार तोडेर भागेका सबै कैदीबन्दीहरूलाई भोलिपल्टै फर्किन आह्वान गरेकामा आजसम्म फर्किने कैदीबन्दीको सङ्ख्या ३१६ नेपाली र १० विदेशी (भारतीय) सहित जम्मा ३२६ जना पुगेको जेलर क्षेत्रीले बताए ।

जेलर क्षेत्रीले फर्की नआउने फरार कैदीबन्दीहरू उपर कारागार ऐन २०७९ र अन्य नेपालको प्रचलित कानुनबमोजिम कारबाही हुने तथा कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिउपर पनि कानुनबमोजिम कारबाही हुने बताए ।

जलेश्वर कारागारबाट भागेकामध्ये १३ जना कैदीबन्दीहरूलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ पुनः कारागार फर्काउन मद्दत गरेका थिए भने बाँकी कैदीबन्दीहरू आफैँ स्वेच्छाले कारागारमा फर्किएका हुन् ।

महोत्तरीको जलेश्वर कारागारबाट अझै फरार रहेका कैदीबन्दीहरूलाई जिल्लाको तीनै तहका सुरक्षाकर्मीहरूले व्यापक रूपमा खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

Scroll to Top