द पब्लिक टुडे
ढल्केवर, असार २१ गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा युवाको नेतृत्व क्षमता, नागरिक चेतना तथा व्यावसायिक सीप विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको दुईदिने ‘उडान : बटेश्वर युवा कार्यक्रम–२०८३’ सम्पन्न भएको छ । कार्यक्रमको समापनसँगै सहभागी युवाले १२ बुँदे ‘उडान बटेश्वर युवा संकल्प–पत्र, २०८३’ सार्वजनिक गरेका छन् ।
बटेश्वर युवा सञ्जालको आयोजनामा सम्पन्न कार्यक्रममा ८५ जना युवा प्रत्यक्ष सहभागी भएका थिए । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा नेतृत्व विकास, प्रभावकारी सञ्चार, नेपालको संविधान, संघीय शासन प्रणाली, स्थानीय सरकार, निर्वाचन प्रणाली, नागरिक सहभागिता, व्यक्तिगत तथा व्यावसायिक विकास, जीवनवृत्त तयार गर्ने तरिका, विद्युतीय हुलाक प्रयोग, अन्तर्वार्ता सीप, कृत्रिम बुद्धिमत्ता तथा समुदायमा आधारित परियोजना विकासलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रमका विभिन्न सत्रमा निर्वाचनमा नागरिकको सहभागिता, मतदाताको भूमिका, सामाजिक उत्तरदायित्व तथा समुदाय विकासमा युवाको योगदानबारे पनि जानकारी गराइएको आयोजकले जनाएको छ ।
समापनका अवसरमा सार्वजनिक गरिएको १२ बुँदे युवा संकल्प–पत्र मार्फत सहभागीहरूले नैतिक नेतृत्व, नागरिक जिम्मेवारी, स्वयंसेवा, लोकतान्त्रिक मूल्य, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा बटेश्वरको समृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमका संयोजक तथा बटेश्वर युवा सञ्जालका प्रतिनिधि सरोजकुमार महतोले ‘उडान’ दुईदिने प्रशिक्षणमा मात्र सीमित नभई युवालाई नेतृत्व, ज्ञान र सेवामार्फत समुदायमा सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने अभियान भएको बताए । सहभागी युवाको उत्साह, स्थानीय समुदायको साथ र विभिन्न साझेदार संस्थाको सहयोगले कार्यक्रम ऐतिहासिक बनेको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई अझ व्यापक र प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिने बताए । कार्यक्रममा सहभागी युवाले अन्य कार्यक्रमभन्दा ‘उडान’ फरक र व्यवहारिक लागेको प्रतिक्रिया दिएका छन् ।

उनीहरूले नयाँ साथीहरूसँग परिचय गर्ने, आफ्ना विचार खुला रूपमा राख्ने, सिकेका विषय व्यवहारमा अभ्यास गर्ने तथा सहभागीमैत्री वातावरणमा सिक्ने अवसर प्राप्त भएको बताएका छन् ।
बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले युवालाई परिवर्तनका अगुवा बन्न आग्रह गर्दै यस्ता कार्यक्रम सञ्चालन गरेकोमा बटेश्वर युवा सञ्जालप्रति धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी सबै ८५ युवालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।





