विराटनगर, जेठ ६ गते ।
कोशी प्रदेशसभाको नवौँ अधिवेशनको आज बसेको पहिलो बैठकमा ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३ सभामा पेस भएको छ ।
कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले सो विधेयक पेस गर्दै उक्त विधेयकले प्रदेश खेलकुदलाई सक्षम एवं सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरियो ।
शुभकामना
बैठकमा नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले चालु अधिवेशनको सफलताको शुभकामना दिँदै अधिवेशनले सार्थकता पाओस् भने । उनले सरकारले ल्याउन लागेको वार्षिक नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेट्न सकोस् भन्दै गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले मुलुकलाई नयाँ ढङ्गले अधि बढाउन प्रेरित गरेको कुरामा जोड दिए ।
नेता थापाले नयाँ सोच र विचारमा प्रभावित नीति तथा कार्यक्रम आउनुपर्ने धारणा राख्दै समृद्धिको बाटो खोल्न पर्यटन प्रवद्र्धनका निम्ति पूर्वाधारमा लगानी बढाउनुपर्ने बताए । उनले कोशी प्रदेशसभाको सदस्यहरुको योजनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने भन्दै सरकार सुशासनको मार्गबाट पछि हट्न नहुने स्पष्ट पारियो ।
नेपाल कम्युनिष्ट पार्टी कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेङ्याङबो लिम्बूले अधिवेशनको शुभकामना दिने क्रममा संसदीय प्रणाली एवं व्यवस्था जीवित राख्न सरकार गम्भीर हुनुपर्ने कुरामा जोड दिए ।
नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सङ्घीयता र संविधानप्रति सङ्घीय सरकार जिम्मेवार बन्नुपर्ने भन्दै सरकारका कारण कार्यपालिका र न्यायापलिकाबीच टकराव हुुनुहुँदैन भने । उनले जनतालाई भरोसा दिन सक्ने सरकारको नीति तथा कार्यक्रम तथा बजेट आउनुपर्ने बताउँदै कानुन जिम्मेवारी लिन सक्ने र जवाफ दिन सक्ने हुनुपर्ने सुझाव दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट कोशी प्रदेशसभा सदस्य प्रेमराज थाम्साङले सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम जनताको चाहना र विश्वासलाई पूरा गर्नसक्ने हुनुपर्ने बताए । उनले अधिवेशनको शुभकामना दिने क्रममै शिक्षा, स्वास्थ्य, महँगी र गरिबी न्यूनीकरणमा सरकारको ध्यान जाओस् भने ।
कोशी प्रदेश सरकारले बिहीबार अपराह्न ३ः०० बजे आगामी आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक नीति तथा कार्यक्रम पेस हुनेबारे सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाएको थियो ।





