महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको ज्यान गयो

File Photo



महोत्तरी, जेठ ८ गते ।

महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज जिल्लाको मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो ।

मनरासिस्वा नपा–७ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरु १२ वर्षीया स्नेहाकुमारी र छ वर्षीया शिवानीकुमारी तथा अजिज नदाफकी छोरी १२ वर्षीया अफसाना खातुनको डुबेर मृत्यु भएको हो । सरपल्लो गाउँकी तीनै जना बालिका आज दिउँसो अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका थिए । नुहाउने क्रममा खुट्टा चिप्लेर नदीमा डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार गौशाला नपा–४ रजखोर गाउँ बस्ने नरेश महतोकी छोरी दुई वर्षीया दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले बताउनुभयो ।

मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Scroll to Top