तरुण दलले भन्यो – प्रधानमन्त्रीको भिव्यक्तिले राष्ट्रिय आत्मसम्मानमा चोट पुग्यो



द पब्लिक टुडे
गौशाला, जेठ १७ गते ।

प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल तरुण दलले जनाएको छ । संगठनका अध्यक्ष मनिष कोइरालाद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको संसद प्रस्तुतिलाई कमजोर र अप्रत्याशित भन्दै आलोचना गरिएको छ ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आकस्मिक रूपमा सञ्चालन गरिएको थियो । तर, उक्त कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले आमनागरिकलाई आश्चर्यचकित बनाएको तरुण दलको भनाइ छ ।

तरुण दलले विशेषगरी प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । संगठनले यस्तो टिप्पणीलाई अपरिपक्व र अवाञ्छित भन्दै राष्ट्रिय आत्मसम्मानमा चोट पुग्ने खालको भएको उल्लेख गरेको छ ।

तरुण दलले राष्ट्रियताजस्तो संवेदनशील विषय तथा नागरिकको जीविकोपार्जनसँग प्रत्यक्ष सम्बन्धित मुद्दामा सरकार तथ्यपरक, परिपक्व र रचनात्मक ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिएको छ ।

साथै, नेपाल तरुण दलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण राख्दै अन्तर्राष्ट्रियस्तरमा नेपालको सकारात्मक पहिचान निर्माणका लागि सरकार, राजनीतिक दल, नागरिक समाज, विद्यार्थी तथा आमनागरिकलाई एकताबद्ध हुन आह्वान गरेको छ । शिलापत्र

Scroll to Top