मो इसराफिल राईन,
-महोत्तरी असार ३ गते ।
महोत्तरीको मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले आर्थिक वर्ष २०८३/०८४ को निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
मटिहानी नगरपालिकाको १७ औँ नगरसभाको खुला सत्रमा निति तथा क्रार्यक्रमसँगै आव २०८३/०८४ को लागि कुल बजेट ४७ करोड ४५ लाख बनियोजन गरिएको छ। जसमा राजश्व बाँडफाँड तर्फको १० करोड ५७ लाख, सघीय सरकार तर्फ २८ करोड ८८ लाख, प्रदेश सरकारको १ करोड ४९ लाख ९५ हजार र आन्तरिक श्रोतबाट ६ करोड ५६ गरी कुल ४७ करोड ४६ लाख को बजेट नगर प्रमुख मण्डलले प्रस्तुत गरेका छन्।
मेयर मण्डलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उहाँले नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै यस आर्थिक वर्षमा यी तीनै महत्वपूर्ण विषयका साथै मटिहानीको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासको क्षेत्रमा समेत उल्लेख्य सकारात्मक कदम उठाउने बताएका छन् ।
उनले मटिहानीको मुख्य पहिचान नै मटिहानीको विकासको मूल आधार भएकाले विगतका वर्षहरूमा मटिहानीको धार्मिक, ऐतिहासिक र पर्यटकीयका साथै पहिचानका लागि विकासका मूल फुटाउने बताए ।
मधेस प्रदेशका सभामुख राम अशिष यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो नगरसभाबाट मेयर मण्डलले केही महत्वाकांक्षी योजनासमेत सार्वजनिक गरेका छन्। उनले कृषि तथा पशुपालनको क्षेत्रमा थप योजनाहरूसहित यस क्षेत्रको विकासमा निरन्तरता, व्यावसायिक खेती र पशुपालनमा युवाको सहभागिता लगायतमा काम गर्ने बताए ।
त्यस्तै, उद्योग वाणिज्यतर्फ विभिन्न तालिम तथा व्यवसाय सञ्चालनमा नगरपालिकाले सहयोगी भूमिका निर्वाह गर्ने उनल थपे । यता पर्यटनमा विकासका लागि मटिहानी मठलाई विश्व सम्पदा सूचीमा राख्न सरकारलाई अनुरोध गर्ने तथा मटिहानीभित्रका विभिन्न पोखरी, जलसागर, आदिको सौन्दर्यीकरणमा जोड दिने बताए।
मटिहानी नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकलाई बढावा दिन नगरभित्रका मठ मन्दिर तथा मस्जिदहरूलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न प्रचारप्रसार, वृत्तचित्र निर्माणलगायत थप संस्कृति झल्काउने भौतिक पूर्वाधारहरू विकास गरिने बताए ।
त्यस्तै, शिक्षाको क्षेत्रमा मैथिली भाषाको विकास, संरक्षण तथा संवर्द्धन गर्न नगरभित्रका सामुदायिक विद्यालयको कक्षा एकदेखि आठसम्मको पाठ्यक्रममा सय अंकको मैथिली भाषा समावेश गरी अध्ययन गराइने व्यवस्था मिलाइने बताए।
त्यसै गरी मटिहानी नगरपालिका अन्तर्गत रहेका माध्यमिक विद्यालय स्तरीय बिज्ञान प्रदर्शनी मेला आयोजना समेत गरिने छ ।
त्यस्तै, विद्यार्थीको सूचना प्रविधिमा पहुँच पुर्याउन जोडकोषमा आधारित ल्यापटप वितरण, कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई नि:शुल्क साइकल वितरण , दलित, विपन्न, गरिब, अपांग, असहाय तथा सहिद परिवारका जेहेनदार विद्यार्थीलाई नगर प्रमुख छात्रवृत्ति पुरस्कार सहयोगको व्यवस्था गरिने कुरा नीति, कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ।
यता स्वास्थ्यतर्फ मटिहानी नगरपालिकाले बर्थिङ सेन्टरले रेफर गरेको खण्डमा जनकपुरसम्मका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ। गर्भवतीका लागि अल्ट्रासाउन्ड निःशुल्क गरिनुका साथै आयुर्वेद तथा पारम्परिक चिकित्सा प्रणालीको विकास गरिने उल्लेख छ।यसका अलावा समावेशीकरण/गरिबी निवारण तथा कला, संस्कृति, खेलकुद, पूर्वाधार विकास, सिँचाइ, भवन तथा सहरी विकास, सञ्चार, वातावरण तथा विपत् व्यवस्थापनसम्बन्धी नीति तथा कार्यक्रम, संस्थागत विकास तथा सुशासनसम्बन्धी नीति तथा कार्यक्रम लगायतमा आवश्यक बजेट तथा योजनाहरू सञ्चालन गरिने मेयर मण्डलले उल्लेख गरेका छन् ।





