काठमाडौँ, असार ३ गते ।
बाजुराको लाम्पाटामा स्थापना गरिएको संयुक्त अस्थायी सुरक्षा बेसमा हेलिकोप्टरबाट सामान पुर्याइएको छ।
बुधबार श्री एयरलाइन्सको हेलिकोप्टरबाट सशस्त्र प्रहरीका सामान ढुवानी गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट पठाइएको सामान बाजुरा गुल्मबाट बुधबार लाम्पाटा पुर्याइएको जनाइएको छ।
गत जेठ ३१ गते सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेश स्थापना भएको थियो।
बुधबार नै नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयबाट बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगबिजय सुवेदी लाम्पाटा पुगेरका हुन्। उनले तैनाथ सुरक्षाफौजको कामकारबाहीबारे जानकारी लिएका छन्।
बाजुरा र हुम्लाको सीक्षा क्षेत्रमा केही दिनदेखि सीमालाई लिएर विवाद भएको छ। त्यसलाई मध्यनजर गरेर गत जेठ २७ गते सशस्त्र प्रहरीको टोली लाम्पाटामा खटाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।





