असार, असार १५ गते ।
पहाडी जिल्ला धनकुटाको सहिदभूमि गाउँपालिकामा आइतबार बिहान वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धताको सन्देश दिइएको छ ।
नेपाल सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ शहीदभूमिबाट गरिएको हो । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर सुरु गरिएको अभियानअन्तर्गत सहिदभूमिको प्रवेश गेटदेखि सुकेआहाल हुँदै थलथले बजारसम्म सडक पेटीमा सौन्दर्यवर्द्धक प्रजातिका ३५० बिरुवा रोपिएका छन् ।
म्याइगोस्टील, पिताजिया, कल्की, ज्याक्यारान्डा, गुल्मोर तथा गोल्डेन धुपीजस्ता प्रजाति रोपिएको र ति विरुवाले आगामी वर्षहरुमा सडकलाई हरियाली र आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
वृक्षारोपण केवल बिरुवा रोप्ने कार्यक्रम मात्र नभई वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्ने दीर्घकालीन अभियान भएको सहभागीहरुको भनाइ थियो । पछिल्ला वर्षहरुमा बढ्दो तापक्रम, वन विनाश, पहिरो, सुख्खापन र अनियमित वर्षाले प्रकृतिमा पारेको प्रभावलाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय स्तरमै वृक्षारोपणलाई प्राथमिकतामा राखेको छ ।
डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीवराज ढकालले वृक्षारोपण गरेर मात्रै दायित्व पूरा नहुने बताउँदै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह अझ महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले धेरै स्थानमा वृक्षारोपण भए पनि संरक्षणको अभावमा बिरुवा नष्ट हुने समस्या देखिएकाले यस अभियानमा संरक्षणलाई विशेष प्राथमिकता दिइने बताए ।
सरकारले सन् २०२५ देखि २०४५ सम्म सञ्चालन गर्ने २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’अन्तर्गत प्रत्येक वर्ष ३ करोडका दरले कुल ६० करोड बिरुवा रोप्ने लक्ष्य लिएको छ । वन क्षेत्र, सार्वजनिक जग्गा, नदी उकास क्षेत्र, विद्यालय परिसर, सडक किनारा तथा खाली जमिनमा व्यापक वृक्षारोपण गरिने योजना छ । यसले हरित क्षेत्र विस्तार गर्नुका साथै कार्बन उत्सर्जन न्यूनीकरण, भू(क्षय नियन्त्रण, जलस्रोत संरक्षण तथा जैविक विविधता जोगाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कोशी प्रदेशका सबै जिल्लामा आइतबारदेखि एकसाथ सुरु भएको यो अभियान प्रत्येक वर्ष असार १५ देखि साउन १५ सम्म सञ्चालन गरिने डिभिजन वन कार्यालय धनकुटाका प्रमुख ढकालले जानकारी दिए । वर्षायामलाई लक्षित गरी हुने वृक्षारोपणले बिरुवाको बाँच्ने सम्भावना बढाउने विश्वास गरिएको छ ।
जलवायु परिवर्तनको बढ्दो चुनौतीका बीच यस्ता अभियानको सफलता बिरुवाको संख्याले मात्र होइन, ती बिरुवालाई हुर्काएर वनमा रुपान्तरण गर्न सक्नुपर्ने ढकालको भनाइ छ । वृक्षारोपणसँगै संरक्षण, नियमित स्याहार, स्थानीय समुदायको अपनत्व र दीर्घकालीन अनुगमनलाई समान रुपमा प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको ढकालले बताए ।
‘सगरमाथा वृक्षारोपण महाअभियान’ मा स्थानीय जनप्रतिनिधि, विद्यार्थी, सामुदायिक वनका पदाधिकारी, सुरक्षाकर्मी, सरकारी कर्मचारी तथा स्थानीयवासी एकैसाथ सडक किनारमा बिरुवा रोप्दै हरियाली भविष्य बनाउने अभियानमा जोडिएका थिए । वातावरण संरक्षण सरकारी निकायको मात्र जिम्मेवारी नभई समुदायको साझा दायित्व भएको कार्यक्रममा सहभागीहरुले बताएका थिए । बिरुवा रोप्दै उनीहरुले हरियाली नेपालको निर्माणमा आफ्नो योगदान रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।





