काठमाडौँ, असार २४ गते ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदहरुले धानखेती लगाउने समयमा रासायनिक मल अभावका कारण चिन्तित किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरियो ।
उनिहरूले यसअघिका वर्षहरूमा जस्तै यस वर्ष पनि मल अभावको समस्याबाट किसान मारमा परेको उल्लेख गर्दै मलको सहज व्यवस्थापन गरियोस् भने ।
सांसद शम्भुप्रसाद ढकालले फरक प्रसङ्गमा जनताको अपेक्षाअनुसार सरकारी कार्यालयबाट सेवाप्रवाह नहुँदा सर्वसाधारणले दुःख व्यहोर्नुपरेको भनी सरकारको ध्यानाकर्षण गराए ।
सांसद ललिता कुमारीले शुद्धशाकाहारी तथा धार्मिक पर्यटकलाई लक्षित गरी खानेबस्ने प्रबन्ध मिलाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गरियो ।
सांसद लालविक्रम थापाले आफ्नो निर्वाचन क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरेकामा सरकारलाई धन्यवाद दिँदै २५ वर्षदेखि अलपत्र अवस्थामा रहेको इनरुवादेखि कप्तानगन्जसम्मको सडक निर्माणको कामले गति लिएको बताए ।
सांसद लीमा अधिकारीले नेपाली वायुसेवा कम्पनीमाथि लागेको प्रतिबन्ध खुलाउन कूटनीतिक पहल गरियोस् भने ।
सांसद लेखजङ्ग थापाले लुम्बिनी प्रदेशको भीम अस्पतालमा पर्याप्त जनशक्तिसहित आइसियुको अभावमा उपचारबाट सर्वसाधारण वञ्चित हुनुपरेको उल्लेख गर्दै अत्यावश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गरी स्वास्थ्य सेवा सुनिश्चित गर्न माग गरियो ।
सांसद विक्रम थापाले भारतसँगको समन्वयमा कपिलवस्तुको बाणगङ्गा नदीको तटबन्धको काम अघि बढाउने भनिएकामा अहिलेसम्म केही प्रगति नभएको उल्लेख गर्दै तटबन्धको काम अघि बढाइ बाढीबाट जनतालाई बचाउन अनुरोध गरियो ।
सांसद विष्णुमाया विकले अस्थायी रुपमा होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीलाई २५ हजार दिएर घर फर्काउन खोज्नु न्यायोचित नभएको बताए ।
सांसद शिवशङ्कर यादवले ‘लोडसेडिङ’को समस्याबाट मधेसका जनता प्रभावित भएको भन्दै सिरहाको २८ ठाउँमा टान्सफर्मर आवश्यक देखिएकाले त्यसको व्यवस्था गरी पीडित जनतालाई राहत दिन अनुरोध गरियो ।
सांसद शोभा खनालले कृषिप्रधान देशमा पनि कृषकले खेती गर्ने समयमा रासायनिक मलको अभाव खेप्दै आएको विषयमा ध्यानाकर्षण गराए ।
सांसद श्रद्धाकुँवर क्षेत्रीले विद्युत्मा देखिएको समस्याका कारण जनताले सास्ती व्यहोर्नुपरको र महँगीका कारण जनताको जीवनयापनमा समस्या देखिएकोतर्फ सरकारको ध्यानाकर्षण गरियो ।
सांसद श्रीधर पोखरेलले बर्दियाका उखु कृषकले लागतअनुसारको मूल्य पाउन नसकेको भनी सरकारको ध्यानाकर्षण गराए ।
सांसद श्रीराम न्यौपानेले जलस्रोत र ऊर्जा क्षेत्रबाट अपेक्षित फाइदा लिननसक्दा देश ‘रेमिटान्स’को भरमा चल्नुपरेको भनी गुनासो गरियो ।
सांसद सन्तोषराज वंशीले खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको रासायनिक मलको अभाव भएकाले सोको व्यवस्था गर्न सरकारसँग अनुरोध गरियो ।
सांसद सन्दीप रानाले पाल्पा जिल्ला अस्पतालसहित देशभर नै ‘एन्टिरेबिज’ खोपको अभाव भएकाले त्यसमा सरकारको ध्यान जाओस् भने ।
सांसद समिना मियाँले मानव र वन्यजन्तुबीचको द्धन्द्ध बढेको अवस्थामा समाधानका लागि आवश्यक समन्वयसहित पहल हुनुपर्ने धारणा व्यक्त गरियो ।
सांसद समीक्षा बाँस्कोटाले सबै खालको कानुन तथा नीति निर्देशिका समेटिएको ‘डिजिटल पोर्टल’ सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद सरस्वती लामाले नेपालको बाटो हुँदै कैलाश मानसरोवरको दर्शन गर्न आएका भारतीय पर्यटकले चिनियाँ ‘भिषा’ नपाउँदा नेपालमै अलपत्र पर्ने अवस्था सृजना भएकाले कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद सरिता महतोले बौद्धिक अपाङ्गता भएका बालबालिकाका अभिभावकले सोसम्बन्धी कागजातपत्र पाँच वर्षपछि मात्रै प्राप्त गर्ने विद्यमान प्रावधान सुधार्न गर्न अनुरोध गरियो ।
सांसद सागर भुसालले पर्वत जिल्लाका दजनौँ सडक वर्षौंदेखि अलपत्र पर्दा वर्षामा हिलाम्मे भई आउजाउको समस्या परेकाले समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।
सांसद सजिता खातुन सिद्धिकीले गरिब जनतामाथि हुनेगरेका अन्यय र अत्याचारको अन्त्य गर्न सरकारसँग अनुरोध गरियो ।
सांसद सीताराम साहले मधेसको सिरहा र सप्तरीका जमिनमा अझै पनि सिँचाइको अभाव रहेको उल्लेख गर्दै समस्या समाधानको लागि सरकारको ध्यानाकर्षण गराए ।
सांसद सिर्जना श्रेष्ठले नेपालका युवाहरु आफ्ना प्रमाणपत्र लिएर विदेश भासिन बाध्य भएकाले सो समस्या रोकथाम र नियन्त्रणको लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरियो ।
शून्य समयमा भाग लिनुहुने सुम्निमा उदास, सुशीलकुमार कानुलगायतका सांसदले रासायनिक मल अभावसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।





