जलेश्वर, असार २५ गते ।
जिल्ला हुलाक कार्यालय, महोत्तरीको आयोजनामा ‘नागरिकसँग हुलाक सेवा, प्रचार–प्रसार तथा अन्तरक्रिया कार्यक्रम’ जलेश्वरमा सुरु भएको छ।
जिल्ला हुलाक कार्यालयको सभाहलमा सुरु भएको कार्यक्रममा हुलाक सेवाप्रति नागरिकको पहुँच, विश्वास र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मी, सरोकारवाला निकाय तथा सेवाग्राहीहरूको सहभागिता रहेको छ।
कार्यक्रमको उद्घाटनसँगै हुलाक कार्यालयले प्रदान गर्दै आएका सेवा, सेवा विस्तारका योजना, डिजिटल प्रविधिमार्फत सेवा प्रवाह तथा सेवाग्राहीले भोग्दै आएका समस्या र समाधानका उपायबारे छलफल सुरु गरिएको जिल्ला हुलाक कार्यालय महोत्तरीका प्रमुख रामचन्द्र साहले बताए ।
जिल्ला हुलाक कार्यालय, महोत्तरीका अनुसार अन्तरक्रिया कार्यक्रममार्फत नागरिकका गुनासा, सुझाव र अपेक्षालाई प्रत्यक्ष रूपमा संकलन गरी हुलाक सेवालाई समयसापेक्ष, पारदर्शी र गुणस्तरीय बनाउने लक्ष्य राखिएको छ।
कार्यक्रममा सहभागीहरूले हुलाक सेवाको आधुनिकीकरण, डिजिटल सेवाको विस्तार तथा ग्रामीण क्षेत्रसम्म सेवाको सहज पहुँच सुनिश्चित गर्न आवश्यक रहेकोमा जोड दिएका छन्। अन्तरक्रियामा उठेका विषयवस्तुलाई आगामी सेवा सुधारका योजनामा समेटिने आयोजकको भनाइ छ।







