द पब्लिक टुडे
ढल्केवर, भदौ २३ गते ।
रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एम.भी. दुगड ग्रुपले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रयोजनका लागि उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन् । उक्त रकममा एम.भी. दुगड ग्रुप तथा ग्रुपको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोगसमेत समावेश रहेको ग्रुपले जनाएको छ ।
२०८३ साल भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र पहिरोबाट ठूलो धनजनको क्षति भएको थियो । घटनाप्रति दुःख व्यक्त गर्दै ग्रुपले बाढी तथा पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
ग्रुपले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको ग्रुपले जनाएको छ ।
विपद्को सामना गर्न नेपाल सरकारसँग हातेमालो गर्दै मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्न ग्रुप सधैँ प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङका कारण यस्ता विनाशकारी विपद् बढिरहेको विज्ञहरूको मत रहेको सन्दर्भमा ग्रुपले वातावरण संरक्षणमा समेत काम गर्दै आएको जनाएको छ ।
ग्रुपका अनुसार वि.सं. २०७८ सालदेखि देशव्यापी रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा रोपिएको तथा ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्ड, विभिन्न विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका बिरुवा रोपेर संरक्षण गरिएको छ ।
ग्लोबल वार्मिङको असर कम गर्न सञ्चालन गरिएको वृक्षारोपण अभियानलाई आगामी दिनमा पनि उच्च प्राथमिकताका साथ निरन्तरता दिने ग्रुपले जनाएको छ ।





