कोशीको जग्गा : डोजर चलाउने चेतावनीपछि धमाधम सटर खाली हुँदै



विराटनगर, असार २७ गते ।

कोशी अस्पताल विराटनगरले अतिक्रमित संरचना खाली गर्न सोमबारदेखि डोजर चलाउने चेतावनी दिएपछि अतिक्रमित क्षेत्रमा परेका सटर खाली गर्न थालिएको छ ।

विराटनगर–७ अस्पताल चोकमा कोशी अस्पतालको नाममा रहेको कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ को बहुमूल्य जग्गामा नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंक, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका छन् ।

ती संस्थाले ३० भन्दा बढी सटर भाडामा लगाएका थिए । अस्पताल प्रशासनले सोमबारदेखि सटर डोजर लगाएर भत्काउने बताएपछि शनिबार सटर खाली गरेका हुन् ।

वर्षौदेखि अस्पतालको नाममा रहेको ६ कट्ठा ८ धुर जग्गा नेपाल क्षयरोग निवारण संस्थाले प्रयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटीले करिब दुई कट्ठा जग्गामा संरचना बनाएर भाडामा लगाएको छ । गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडक मोहडाका सटर बनाएर भाडा लगाएका थिए ।

अस्पतालको जग्गामा बनेका संरचना खाली गर्न २१ असारमा गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले अनुगमन गरी निर्देशन दिएका थिए । लगतै अस्पताल प्रशासनले सात दिन भित्र संरचना खाली गर्न सूचना जारी गरेको थियो । सात दिनको समय सोमबार सकिदैछ ।

Scroll to Top