सप्तरी, असार २८ गते ।
सप्तरीको बोदेबरसाइन नगरपालिका–५ स्थित राजविराज–बलान हुलाकी सडक खण्डमा स्थानीयले गरेको सडक अवरोध हटेको छ।
कल्भर्टबाट पानी निकास अवरुद्ध हुँदा बस्ती तथा खेतीयोग्य जमिन डुबानमा परेपछि स्थानीयले सडक अवरुद्ध गरी विरोध जनाएका थिए।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक सुमन तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले जेसीबी प्रयोग गरी जमेको पानी हटाएसँगै स्थानीयले सडकको अवरोध गर्न छोडेका हुन् ।
पानी निकास खुलाउन बोदेबरसाइन नगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष किरन कुमार साह संगै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीले सहजीकरण गरेका थिए ।
अध्यक्ष किरण कुमार साहका अनुसार कल्भर्टमा पानी निकास बन्द हुँदा स्थानीयले ठूलो सास्ती बेहोर्नुपरेको थियो। अहिले सडकको छेउबाट अस्थायी रूपमा पानीको निकास खुलाइएकाले तत्काल समस्या समाधान भएको उनको भनाइ छ ।
हुलाकी सडकअन्तर्गत रहेको कल्भर्टमा पानी निकास अवरुद्ध हुँदा करिब १० घर र ७ विघाभन्दामाथि बढी खेतीयोग्य जमिन डुबानमा परेको थियो।





