द पव्लिक टुडे
जनकपुरधाम, साउन ३ गते ।
कला, साहित्य र सांस्कृतिक क्षेत्रका स्रष्टाहरूको योगदानको सम्मान गर्दै जनकपुरधाममा कलाकार सम्मान तथा अवार्ड वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । रिदम स्टुडियोको आयोजनामा आयोजित कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याएका कलाकार तथा सर्जकहरूलाई सम्मान र २०८३ अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमको सभापतित्व रिदम स्टुडियोका अध्यक्ष अफजल राजाले गरेका थिए भने वरिष्ठ कलाकार बि।एन। पटेल प्रमुख अतिथिका रूपमा सहभागी भए । त्यस्तै, सन्त सत्यनारायण आलोक विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका–२३ का वडाध्यक्ष राघवेन्द्र साह, पत्रकार फुलगेन मुखिया, साहित्यकार उदय यादवलगायतका वक्ताहरूले कला र संस्कृतिको संरक्षण तथा कलाकारहरूको सम्मानले समाजमा सकारात्मक ऊर्जा र सिर्जनशीलताको विकास हुने धारणा व्यक्त गरे । उनिहरूले कलाकारहरू राष्ट्रको सांस्कृतिक पहिचानका संवाहक भएकाले योगदानको कदर गर्दै राज्य तथा समाजले थप प्रोत्साहन र अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
वक्ताहरूले कला र संस्कृतिको संरक्षणमा युवापुस्ताको सहभागिता बढाउन यस्ता सम्मान कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सिर्जनशील प्रतिभाहरूलाई निरन्तर प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । सो अवसरमा संगीत, गायन, अभिनय, साहित्य, सांस्कृतिक संरक्षण तथा अन्य सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न कलाकार तथा स्रष्टाहरूलाई सम्मानपत्र, अवार्ड र मायाको चिनोसहित सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको अन्त्यमा आयोजकले आगामी दिनमा पनि कला, संस्कृति र साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका थिए ।





