काठमाडौं, भदौ १८ गते ।
अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका र आसपास जिल्लामा पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास आपूर्ति वैकल्पिक मार्गबाट गरिरहेको जनाएको छ ।
१० भदौमा भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायत जिल्लामा अत्यधिक जनधनको क्षति भएकाले उक्त क्षेत्रमा भइरहेको उद्धार कार्यमा निगमले पेट्रोलियम पदार्थ तथा ग्यास बिक्री वितरण व्यवस्था मिलाइरहेको बताएको छ ।
त्यस्तै १४ भदौमा त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा कटान गरेको र सडक भासिएका कारण बाटो अवरुद्ध हुँदा सोही रुटमा पेट्रोलियम ट्यांकर तथा ग्यास बुलेट आउन नसक्ने अवस्था सिर्जना भएको छ ।
यस समस्या मध्यनजर गर्दै निगमले काठमाडौं तथा आसपास जिल्ला र काठमाडौं उपत्यकामा बिक्री वितरण गर्ने पेट्रोलियम पदार्थ वैकल्पिक रूपमा त्रिभुवन राजपथबाट भित्र्याइरहेको उल्लेख गरेको छ ।
निगमका अनुसार एलपी ग्यास उद्योगका हकमा हाललाई तराईका उद्योगहरूमा ग्यास सिलिन्डर भरी सोही बाटोबाट ल्याउने व्यवस्था मिलाइएको छ । आजमात्र उपत्यकाका लागि विभिन्न ब्रान्डका करिब २४ हजार ५ सय सिलिन्डर ग्यास ल्याउने व्यवस्था मिलाइएको छ भने भोलिदेखि यो क्रम नियमित एवं थप परिमाणमा ल्याइने छ ।
यसका साथै, खोज तथा उद्धार कार्यमा संलग्न भएका हेलिकप्टरका लागि आवश्यक हवाई इन्धन नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट रिफ्युलिङ सेवाको प्रबन्ध मिलाइएको निगमको भनाइ छ ।
१० भदौदेखि आजसम्म १० लाख २ हजार लिटर हवाई इन्धन रिफ्युलिङ कार्यका लागि पठाइसकिएको र हालसम्म पनि उक्त ब्यारेकबाट रिफ्युलिङ कार्य नियमित भइरहेको निगमले जनाएको छ ।
उद्धार कार्यको सहजीकरणका लागि निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रहरूमा हाल सञ्चालनमा रहेका पेट्रोल पम्पलाई हालसम्म पेट्रोल १० लाख ५ हजार लिटर र डिजेल २० लाख २ हजार लिटर उपलब्ध गराइएको छ ।
साथै, माग अनुसार सार्वजनिक बिदाका दिनमा समेत पेट्रोल र डिजेल बिक्री वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
खोज तथा उद्धार कार्यबाट उद्धार गरी प्रभावित क्षेत्रका विभिन्न स्थानका सेल्टरमा रहेका बाढी प्रभावित व्यक्तिका लागि आवश्यक पर्ने ग्यासको समेत व्यवस्था गरिएको छ ।
निगमको समन्वयमा नेपाल एलपी ग्यास उद्योग संघबाट उपलब्ध गराउने १ हजार २ सय ५० थानमध्येबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार काठमाडौंको अनुरोधमा रसुवा र नुवाकोट जिल्लामा ५ सय थान ग्यास सिलिन्डर पठाउने व्यवस्था मिलाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।





