यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय



काठमाडौं, साउन १३ गते ।

सरकारले विभिन्न ९ वटा विधेयकहरू संघीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयकलगाएतका विधेयक संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक र बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक संसद्‌मा पेस गर्ने स्वीकृति प्रदान गरिएको छ ।

त्यस्तै आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक समेत संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।

बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको उनले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद्ले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय गरेको छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

Scroll to Top