द पब्लिक टुडे
गौशाला, साउन १३ गते ।
महोत्तरीमा राष्ट्रिय परिचयपत्र बनाउन थप सहज, छिटो र सेवाग्राहीमैत्री बनाउन आवेदन फारम निःशुल्क भर्ने व्यवस्था सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधवार सूचना जारी गर्दै अब राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीले फारम भर्नका लागि सेवा प्रदायकलाई अतिरिक्त शुल्क तिर्नु नपर्ने जनाएको छ ।
राष्ट्रिय परिचय पत्र फारमका लागि कर्मचारीको सहजीकरणमा आवेदन फारम निःशुल्क भरिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत शशि मोहन दासले बताए ।
जिल्ला प्रशासन कार्यालयले यस व्यवस्थाबाट सेवाग्राहीको समय, खर्च र झन्झट कम हुनुका साथै सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र सेवामुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउन आउने सबै नागरिकलाई कार्यालयबाट उपलब्ध गराइएको निःशुल्क सेवाको लाभ लिन आग्रह गर्दै कुनै पनि व्यक्ति वा संस्थालाई अनावश्यक शुल्क नतिर्न अनुरोध गरेको छ ।





