नेपालमा बाघको संख्या ४२९ पुग्यो

File Photo



काठमाडौं, साउन १३ गते ।

नेपालमा बाघको संख्या ४२९ पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ ले नेपालमा उक्त संख्यामा बाघ रहेको देखाएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा विश्व बाघ दिवसको अवसरमा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “क्यामरा ट्र्यापबाट पहिचान भएका बाघका आधारमा वन्यजन्तुको संख्या विश्लेषण गर्ने वैज्ञानिक विधि एसईसीआर प्रयोग गरी प्राप्त नतिजा बमोजिम हाल नेपालमा बाघको संख्या पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं वरिपरीका वन क्षेत्रमा क्रमशः ७१, १४५, ५१, ११२ र ५० गरी कूल अनुमानित संख्या ४२९ (४०२–५००) वटा बाघहरू रहेको पाइएको छ ।”

राष्ट्रिय बाघ सर्वेक्षण, २०८२ बाट प्राप्त बाघका तस्बिरहरूलाई तीनका शरीरका पाटाहरूको आधारमा विश्लेषण गर्दा ३७३ वटा छुट्टाछुट्टै बाघको पहिचान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बाघको धनत्व, अकुपेन्सी र आहारा प्रजातिको सर्वेक्षणबाट प्राप्त तथ्यांकको थप विश्लेषण गरी पूर्ण प्रतिवेदन छिट्टै प्रकाशन गरिने विभागले जनाएको छ ।

विश्वमा बाघ पाइने १३ मुलुकहरूमध्ये नेपाल एक हो । बाघको प्राकृतिक वासस्थान खण्डीकरण, आहारा प्रजातिमा कमी, चोरी सिकार र अन्य मानवीय क्रियाकलापका कारण संसारमा यसको संख्या क्रमशः कम हुँदै गएको थियो ।

यसैक्रममा सन् २०१० मा बाघ पाइने राष्ट्रहरूले बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गरी हरेक मुलुकले बाघ संरक्षणका लागि विशेष पहल लिएर बाघको संख्यामा क्रमिक सुधार हुँदै आएको विभागले जनाएको छ ।

नेपालले बाघको संख्या, वितरण तथा वासस्थानको अवस्थाबारे वैज्ञानिक तथ्यांक संकलन तथा विश्लेषण गर्न राष्ट्रिय बाघ सर्वेक्षण सन् २००९ देखि हरेक चार–चार वर्षमा गर्दै आएको छ ।

यस वर्षको बाघको सर्वेक्षणका लागि नेपालका बाघ पाइने ५ वटा निकुञ्जहरू पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा एवं वरिपरीका वन क्षेत्रमा क्यामरा ट्र्यापको काम २०८२ साल पुस १ देखि सुरु भई २०८३ वैशाख १० गते सम्पन्न भएको थियो ।

राष्ट्रिय बाघ सर्वेक्षण, २०८२ अन्तर्गत बाघको बासस्थानलाई ३ वटा कम्पलेक्स– चितवन पर्सा कम्पलेक्स, बाँके बर्दिया कम्पलेक्स र शुक्लाफाँटा लालझाडी कम्पलेक्समा विभाजन गरिएको थियो ।

हरेक कम्पलेक्सलाई विभिन्न ब्लकभित्र २ किलोमिटर लम्बाई र २ किलोमिटर चौडाइका वर्गाकार ग्रिड बनाई हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामरा जडान गरी निरन्तररुपमा कम्तिमा दुई हप्तासम्म राखिएको थियो ।

सर्वेक्षणका क्रममा कुल ७ हजार ३९३ वर्ग किलोमिटर क्षेत्रफलमा एक हजार ८४८ वटा ग्रिडमा कुल ३ हजार ६९६ वटा स्वचालित क्यामेरा प्रयोग गरिएको थियो । कुल ग्रिडहरूमध्ये ६३९ वटा ग्रिडमा बाघको तस्बिर परेको थियो ।

यस सर्वेक्षणमा सबै स्टेशनमा राखिएको क्यामराहरूको कुल जम्मा दिन ३६ हजार १८१ रहेको र क्यामेरा ट्रयपबाट कुल ११ हजार ९११ वटा बाघका तस्बिरहरू प्राप्त भएका थिए ।

“राष्ट्रिय बाघ सर्वेक्षण, २०८२ बाट प्राप्त नतिजाले नेपालमा बाघ संरक्षणका क्षेत्रमा विगतदेखि सञ्चालन हुँदै आएका वासस्थान संरक्षण तथा व्यवस्थापन, चोरी सिकार नियन्त्रण, आहारा प्रजातिको संरक्षण, जैविक मार्ग संरक्षण जस्ता प्रयासहरूको सकारात्मक परिणामलाई प्रतिबिम्बित गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

सर्वेक्षणबाट प्राप्त तथ्यांकले बाघ तथा यसको वासस्थान संरक्षणसम्बन्धी आगामी नीति, योजना तथा कार्यक्रम निर्माणका लागि महत्त्वपूर्ण वैज्ञानिक आधार प्रदान गर्ने जनाइएको छ ।

Scroll to Top