काठमाडौं, साउन १५ गते ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी वायुको प्रभावले शुक्रबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
महाशाखाका अनुसार पछिल्लो एक घन्टामा ताप्लेजुङको लुङथुङमा ५.२ मिलिमिटर, सिन्धुपाल्चोकको गोब्रेमा १८.२ मिलिमिटर, ढुंगेमा ११.४ मिलिमिटर, लमजुङको खुदी बजारमा ११ मिलिमिटर, कालीकोटको नाङमामा ५.२ मिलिमिटर, डोटीको झिंग्रानमा ८.८ मिलिमिटर वर्षा मापन भएको छ।
पछिल्लो चौबीस घन्टामा कञ्चनपुरको दोधारामा १२४.४ मिलिमिटर वर्षा मापन भएको छ। अन्य स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।
शुक्रबार दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ।
दिउँसो देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपात तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने दिउँसो भारी वर्षाको सम्भावना छ।
शुक्रबार राति देशभर साधारणतया बादल लाग्नेछ।
राति देशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपात तथा मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेशको पहाडी र तराई भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





