काठमाडौं, साउन १५ गते ।
मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले यसपटक भएका सम्झौताहरूलाई रद्दीको टोकरीमा नफाल्न प्रधानमन्त्री बालेन शाहलाई सुझाव दिएका छन् ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटघाटका क्रममा आफूहरूले मधेशमा भएका घटनाहरूबारे ध्यानाकर्षण गराएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।
‘सम्झौता भयो, त्यसलाई रद्दिको टोकरीमा नफालिदिनुहोला । विगतका सरकारले जस्तो नगर्नुहोला भनेका छौं,’ महतोले भेटपछि सञ्चारकर्मीसँग भने ।
मधेशमा फैलिएको आगो रोक्नका लागि राज्य संवेदनशील भएर लाग्नुपर्नेमा आफूहरूले ध्यानाकर्षण गराएको बताए ।
जुन आगो मधेशमा फैलिएको छ, त्यसलाई रोक्नुपर्यो । राज्यले रेस्पोन्स नगरेपछि त्यो रोकिंदैन नि । हामी सबै सहयोग गर्न तयार छौं । सबै पक्षको सहयोग गरेर त्यो दंगालाई रोक्नुपर्यो भनेका छौं,’ महतोले भने, ‘त्यसका लागि पहल गर्नुपर्यो । ढिलो भए पनि देशको नाममा सम्बोधन गर्नुभयो, त्यसका लागि धन्यवाद छ । अलि पहिला नै गरिदिएको भए यस्तो चाहिँ हुने थिएन भनेर हामीले भन्यौं ।’





