काठमाडौं, साउन १५ गते ।
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तराई–मधेशका विभिन्न क्षेत्रमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
पार्टीका केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा सम्पन्न बैठकले सुनसरी, सिरहा लगायतका क्षेत्रमा विभिन्न समूहबीच भएको द्वन्द्वका कारण तीन जनाको मृत्यु तथा ठूलो संख्यामा मानिस घाइते भएको घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ।
बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बैठकले घटनाको वास्तविक कारण, झडपको अवस्था तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीको भूमिकाबारे सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र छानबिन आयोग गठन गर्न सरकारसँग आग्रह गरेको छ।
बैठकले नेपाल धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधतासहितको सहिष्णु समाज भएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा सामाजिक सद्भाव, सहअस्तित्व र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला पक्षलाई साझा प्रयास जारी राख्न आग्रह गरेको छ।
पार्टीले धार्मिक तथा सांस्कृतिक विविधतालाई राष्ट्र निर्माणको आधारका रूपमा लिनुपर्ने धारणा राख्दै कुनै पनि प्रकारको विभेद, द्वेष र हिंसालाई अस्वीकार गरेको छ।
साथै नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै बाह्य शक्तिले हस्तक्षेप गर्ने वातावरण सिर्जना हुन नदिन सबै पक्षलाई सजग रहन अपिल गरेको छ।
सरकारले परिस्थितिको समाधानका लागि आवश्यक राजनीतिक संवाद र संवेदनशीलता देखाउन नसकेको आरोप लगाउँदै केवल प्रशासनिक र शक्ति प्रयोगमा केन्द्रित भएको उल्लेख गरेको छ ।
बैठकले सरकारलाई नागरिकसँग संवाद बढाउन, सबै सरोकारवालालाई विश्वासमा लिन तथा समस्याको राजनीतिक र दिगो समाधानतर्फ अग्रसर हुन आग्रह गरेको प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा छ ।
बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय तथा संविधानले सुनिश्चित गरेका उपलब्धिलाई कमजोर पार्ने, सामाजिक सद्भाव भड्काउने तथा समुदायबीच वैमनस्य फैलाउने कुनै पनि गतिविधिप्रति सचेत रहन सबै नेपालीलाई आह्वान गरेको छ।
साथै यस्ता प्रयासलाई असफल बनाउन लोकतान्त्रिक, प्रगतिशील र देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएको छ।
यसैगरी, पार्टीले आफ्ना सबै तहका समिति, नेता तथा कार्यकर्तालाई अन्य राजनीतिक दल र सामाजिक संघसंस्थासँग समन्वय गरी संवाद, बैठक तथा सद्भाव र्यालीजस्ता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ।
बैठकले तराई–मधेशमा देखिएको परिस्थितिलाई राष्ट्रिय जिम्मेवारीका साथ समाधान गर्नुपर्ने उल्लेख गर्दै सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र सम्पूर्ण नागरिकलाई संयम, आपसी विश्वास, निरन्तर संवाद र जिम्मेवारीपूर्ण व्यवहार अपनाउन अपिल गरेको छ।





