राजकरण महतो
बर्दिबास, साउन १७ गते ।
महोत्तरीको बर्दिबासस्थित सिन्धुली रोडमा विश्वप्रसिद्ध कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा मगर (निम्स दाइ) सहित पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ब्रॉड पीक हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका ६ नेपालीको स्मृतिमा श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ।
श्रद्धाञ्जलि सभामा सहभागीहरूले सन् २०२६ जुलाई ३० मा भएको उक्त दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत साहसी पर्वतारोहीहरूको योगदानको उच्च सम्मान गरेका थिए। उनीहरूले नेपालको नाम विश्वसामु गौरवान्वित बनाउने अभियानमा निरन्तर समर्पित रहेका निम्स दाइसहित सम्पूर्ण दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरे।
कार्यक्रममा पूर्व कर्मचारी समाज बर्दिबासका अध्यक्ष रामकुमार कार्की, उल्टो साइकल तथा मोटरसाइकल यात्री जीवनाथ पोखरेल, मधेसको कैलास टुटेश्वरका प्रवर्द्धक, तपस्वी तथा डण्डीबम बासुदेव महतो, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतो लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
सहभागीहरूले साहस, समर्पण र राष्ट्रप्रतिको योगदानका कारण निम्स दाइ नेपाली युवाका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उहाँसहित दिवंगत सबैको योगदानलाई राष्ट्रले सदैव स्मरण गरिरहने विश्वास व्यक्त गरेका थिए।





