काठमाडौं, साउन १९ गते ।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले गुप्तचरलाई गृहमन्त्रालयमै फर्काउन माग गरेका छन् ।
‘यसलाई गृह प्रशासन अन्तर्गत नै राख्नुपर्छ । सरकारको बाध्यताको पछाडि जान चाहन्न । नियतको पछाडि पनि जान चाहन्न । रियालिटीको पछाडि जान चाहन्छु’, सांसद दुलालले भने ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तरतराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद दुलालले यस्तो माग राखेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेट्नि सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्ने गरी विधेयक ल्याएको छ ।
यसअघि पछिल्लो पटक नेपाल सरकार कार्य विधाजन नियमावली २०८३ मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो ।कार्य विभाजन नियमावलीमार्फत गरिएको संशोधनलाई कानुनी मान्यता दिन ल्याइएको विधेयकमाथि संसदीय समितिमा दफावार छलफल सुरु हुँदैछ ।
उक्त बैठकमा बोल्दै सांसद दुललाले गुप्तचरलाई गृहमन्त्रालयमै फर्काउन माग राखेका हुन् ।
साथसाथै, बाह्य इन्टेलिजेन्स चाहिने हो भने त्यो राष्ट्रप्रमुखको कमाण्डमा हुनुपर्ने उनको आग्रह छ ।
‘यदि हाम्रो देशको लागि एक्टरनल इन्टेलिजेन्सको कुनै आवश्यकता हो र त्यसमा जान्छौं भने डाइरेक्ट राष्ट्रप्रमुखले कमाण्ड गर्ने र प्रमुख सुरक्षा निकाय नेपाली सेनाले पनि थाहा नपाउने सूचना सरकारसँग हुनुपर्छ । यो संरचना हुनुपर्छ ।’
राष्ट्रिय अनुसन्धान विभाग भने गृह मन्त्रालय मातहत रहँदै आएको र यसमै फेरि फर्काइनुपर्ने उनको आग्रह छ ।





