सरकारले २१ राजदूतको नियुक्तिको सिफारिस गर्ने तयारी



काठमाडौं, साउन १९ गते ।

सरकारले खाली रहेका २१ राजदूतको नियुक्तिको सिफारिस गर्ने तयारी गरेको छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार अहिले आएका आवेदनहरूको अध्ययन भइरहेको छ । त्यसमध्येबाट उपयुक्त पात्र चयन गरी अर्को साता सम्म सिफारिस गर्ने तयारी छ ।

खुल्ला आवेदनबाट पहिलोपटक राजदूत नियुक्ति सिफारिस हुन लागेको हो ।

करिब ३ हजार भन्दा बढी नामबाट छानेर नियुक्ति सिफारिस गर्न लागेको हो ।

हाल भारत, अमेरिका, चीन, अस्ट्रेलिया, जर्मनी, इजराइल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरब, श्रीलंका, बेलायत र स्पेन गरी १६ देशमा राजदूत खाली छन् ।

४ वर्षे कार्यकाल सकेर केहि समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्र संघीय नियोग भियना छन् । यी सबैमा गरी २० मिसनमा राजदूत नियुक्त गर्नुपर्ने हुन्छ ।

नेपालका जम्मा राजदूतावास संख्या २८ छ । संयुक्त राष्ट्र संघको लागि स्थायी मिसन ३ वटा छन् । महावाणिज्य दूतावासहरू ८ गरी जम्मा ३९ मिसनहरू छन् ।

सरकारले यो आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्क गरी तीनवटा राजदूतावासहरू बन्द गरेको छ ।

हाल न्यूयोर्क, जेनेभा, भियना, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, कुवेत, म्यानमार, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र यूएईमा मात्र राजदूत छन् ।

राजदूत नियुक्तिमा राजनीतिक र करिअर दुवैतर्फबाट गर्ने चलन छ । अहिले पनि दुवैतर्फबाट नियुक्त गर्न लागिएको हो ।

Scroll to Top