ढल्केवरको ट्रमा सेन्टरमाथि सरकारको धाँधली



  • विजय कुमार सिंह

बजेटमा ढल्केवर । निर्णयमा ढल्केवर । जग्गा पनि ढल्केवरकै नाममा । शिलान्यासको तयारी पनि ढल्केवरमै । तर, मंगलबार बसेको प्रतिनिधिसभाको रोस्ट्रमबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भने– ‘मधेशको लहानमा ट्रमा सेन्टर निर्माणको स्वीकृति भइसकेको छ ।’

यही एउटै अभिव्यक्तिले ढल्केवरमा वर्षौंदेखिको ट्रमा सेन्टर बन्ने सपना छनभरमै चकनाचुर बनाइदिएको छ । मन्त्री मेहताले मंगलबार दिएको त्यो अभिव्यक्ति ढल्केवरवासीका लागि विषवमनभन्दा कम थिएन । मन्त्रीको त्यही अभिव्यक्तिले लामो समयदेखि दबिएको शंका एकाएक सडकसम्म ल्याइदिएको छ ।

बुधबार त्यसको प्रतिवाद ढल्केवरस्थित पूर्व–पश्चिम राजमार्गमा देखियो । स्थानीय, जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी–व्यवसायी र नागरिक समाज एउटै मुद्दामा उभिए । राजमार्ग अवरुद्ध भयो । उनीहरुले लगाएको नारा थियो ‘ढल्केवरको ट्रमा सेन्टर खोस्न पाइँदैन, स्वास्थ्यमन्त्री निशा मेहता मुर्दाबाद, ढल्केवरमै ट्रमा सेन्टर कायम गर ।’

ढल्केवरको ट्रमा सेन्टर कुनै आकस्मिक राजनीतिक घोषणा थिएन । यो पूर्व–पश्चिम राजमार्गमा वर्षौंदेखि भइरहेका सवारी दुर्घटना, औद्योगिक करिडोरको विस्तार, बढ्दो जनघनत्व र आकस्मिक उपचार केन्द्रको अभावबाट जन्मिएको आवश्यकताको रुपमा रहेको जानकारहरु बताउँछन् । यही आवश्यकता स्थानीयको आन्दोलन बन्यो, आन्दोलन राजनीतिक प्रतिबद्धतामा बदलियो र अन्ततः संघीय सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि रकम विनियोजन ग¥यो ।

त्यसपछि योजना कागजमै सीमित रहेन । मिथिला नगरपालिका–७, साविक ढल्केवर गाविस–२(क) को कित्ता नम्बर १६९ मा रहेको चार बिघा ऐलानी जग्गा ट्रमा सेन्टरका लागि उपलब्ध गराउने प्रक्रिया पूरा गरियो । लालपुर्जा तयार भयो । सम्बन्धित मन्त्रालय र त्यस मातहत रहेका निकायबीच आवश्यक समन्वय अघि बढ्यो । शिलान्यासको चरणसम्म पुगिसकेको ढल्केवरका गौरवका योजनामाथि सरकारले चरम जालझेल गरेको स्थानीहरुको आरोप छ । त्यसैले अहिले योजनाकै गन्तव्य परिवर्तन हुने संकेतलाई उनीहरु सामान्य प्रशासनिक प्रक्रिया मात्र नभइ राज्यको प्रतिबद्धतामाथिको प्रश्नका रूपमा हेर्छन् ।

मन्त्रीले योजना स्थानान्तरण भएको आशय व्यक्त गरेपछि ढल्केवरमै ट्रमा सेन्टर बन्ने सरकारी प्रतिबद्धतामाथि स्थानीयले धोकाधडीको संज्ञा दिएका छन् । मन्त्रीको भनाइले सरकारभित्रै योजना परिवर्तनको स्पष्ट संकेत गरेको मिथिला नगरपालिका–७ का युवा अगुवा योगेन्द्र महतोले बताए । ढल्केवरका नाममा योजना स्वीकृत गराएर अन्तिम समयमा अन्यत्र लैजान खोज्नु योजनामाथिको धाँधली भएको उनले आक्रोश पोखे । उनले ढल्केवरको ट्रमा सेन्टर योजना स्वास्थ्य पूर्वाधारको विषय मात्र नभई वर्षौंदेखि गरिएको संघर्ष, जनभावना र सरकारी प्रतिबद्धतासँग जोडिएको मुल मुद्दा हो ।

यता धनुषा–४ का प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले भने ढल्केवरमै ट्रमा सेन्टर बन्ने दाबी गरेका छन् । बुधबार स्वास्थ्य मन्त्रीसँगको भेटपछि उनले स्थानीयलाई ढुक्क रहन आग्रह गरेका छन् । तर राजनीतिक आश्वासन र मन्त्रीको सार्वजनिक अभिव्यक्तिबीच देखिएको विरोधाभासले अन्योल हटेको छैन ।

मिथिला उद्योग वाणिज्य संघका संरक्षक सल्लाहकार तेजनारायण साहले स्वास्थ्यमन्त्रीले सदनमा दिएको अभिव्यक्ति सदनबाटै नसच्याएसम्म आन्दोलन जारी रहने बताए । ‘सरकारले जालझेल गरेको छ । यहाँका नागरिकको भावनासँग खेल्ने दुष्प्रयास भएको छ । हामी सडकबाटै ट्रमा सेन्टर फर्काउँछौं,’ साहले भने ‘यो आन्दोलन कुनै राजनीतिक दलको होइन, ढल्केवरको सामूहिक स्वाभिमानको आन्दोलन हो । यसका लागि सडक र अदालत दुवै कोणबाट लडाइँ लड्छौं ।’

यसैबीच बुधबार बसेको सर्वपक्षीय बैठकले मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । समितिमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा, उद्योग वाणिज्य संघ, युवा तथा बुद्धिजीवीका प्रतिनिधिलाई समेटिएको छ ।

समितिले बिहिबार बैठक बसेर चरणबद्ध आन्दोलनको घोषणा गर्ने संघर्ष समितिका सदस्य समेत रहेका नेपाली कांग्रेसका नेता बुधेश्वर महतोले जानकारी दिए । उनले सरकारले भयावह परिस्थितीको सामना गर्नुपर्ने चेतावनी दिए । यो समाचार आजको द पब्लिक टुडे दैनिकमा छापिएको छ ।

Scroll to Top