द पब्लिक टुडे
ढल्केवर, साउन २१ गते ।
धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्यत्रै सारिएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्यमन्त्री निशा मेहताले मधेश प्रदेशको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि चर्किएको विवादले आन्दोलनको रुप लिएको हो ।ं
ट्रमा सेन्टरकै विषयमा बसेको सर्वपक्षीय बैठकले मिथिलाका मेयर महेन्द्र महतोको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ । उक्त समितिको बठकले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत साउन २१ गते प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउने, २२ गते पत्रकार सम्मेलन गर्ने, २३ गते राँके जुलुश गर्ने, २४ गते पूर्वपश्चिम राजमार्गमा आधा घण्टा चक्काजाम गर्ने, २५ गतेदेखि क्रमश एक घण्टा चक्काजाम बढ्दै जाने निर्णय गरिएको संघर्ष समितिका संयोजक समेत रहेका मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले जानकारी दिए ।
हाल मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघिय सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो ।
उक्त योजनाका लागि जग्गा प्राप्तिको प्रक्रिया पनि पूरा भइसकेर लालपूर्जा बनिसकेको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले बताए । शिलान्यासको संघारमा रहेको उक्त योजना स्वास्थ्य मन्त्रीको अभिव्यक्तीले विवादमा तानिएको उनले बताए ।
यता, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आफ्नो फेसबुक पेजमार्फत ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने सरकारको योजना यथावत् रहेको स्पष्ट पारिसकेका छन् । ‘यसलाई कुनै पनि रूपमा रोकिएको वा परिवर्तन गरिएको होइन । ढल्केबरको भौगोलिक अवस्थिति, पूर्व–पश्चिम राजमार्ग तथा मधेश प्रदेशलाई जोड्ने प्रमुख सडक सञ्जालका कारण त्यहाँ ट्रमा सेन्टरको आवश्यकता अझै पनि उत्तिकै महत्वपूर्ण रहेकोले मन्त्रालय त्यसलाई अगाडि बढाउन प्रतिबद्ध छ,’ मन्त्री मेहताले लेखेका छन् ।
तर, मिथिला उद्योग वाणिज्य संघका संरक्षक सल्लाहकार तेजनारायण साह स्वास्थ्यमन्त्रीले सदनमा दिएको अभिव्यक्ति सदनबाटै नसच्याएसम्म आन्दोलन जारी रहने बताउँछन् । ‘सरकारले जालझेल गरेको छ । यहाँका नागरिकको भावनासँग खेल्ने दुष्प्रयास भएको छ । हामी सडकबाटै ट्रमा सेन्टर फर्काउँछौं,’ साहले भने ‘यो आन्दोलन कुनै राजनीतिक दलको होइन, ढल्केवरको सामूहिक स्वाभिमानको आन्दोलन हो । यसका लागि सडक र अदालत दुवै कोणबाट लडाइँ लड्छौं ।’





