मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा हराएका ३ युवक सकुशल फेला



गण्डकी, साउन २१ गते ।

मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुछ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जंगलबाट सम्पर्क विहीन तीन युवकलाई सकुशल फेला पारिएको छ ।

पोखरा महानगरपालिका–१४ खसीबजारका अजित जिसी, युकेश गुरुङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले भने, ‘तीनै जना युवक सकुशल भेटिनुभएको छ, उद्धार भइरहेको छ ।’

बुधबार बिहान ८ः०० बजेदेखि उनीहरूको मोबाइल बन्द भएपछि घरपरिवारले खोजीका लागि प्रहरी समक्ष अनुरोध गरेका थिए ।

जंगलमा बाटो बिराएर अलपत्र परेपछि उनीहरूको खोजीमा नेपाली सेना, सशत्र प्रहरी बल, जनपद प्रहरी परिचालन गरिएको थियो ।

उनीहरूलाई मोदी खोलाको पारिपट्टि छुमरुङवेशीमा भेटिएको घान्द्रुक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिए ।

Scroll to Top