काठमाडौं, साउन २१ गते ।
नेपाल आदिवासी जनजाती महासंघले ३२औँ विश्व आदिवासी दिवसको तयारी पूरा भएको जानकारी दिएको छ ।
महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जानकारी दिएको हो ।
संयुक्त राष्ट्रसंघको घोषणा बमोजिम प्रत्येक वर्ष अगस्ट ९ तारिखमा विश्वभर आदिवासी दिवस मनाउने गरिएको छ ।
महासंघले यसवर्षको आदिवासी दिवस ‘प्राप्त अधिकार रक्षा आजको आवश्यकता १ पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिवद्धता ११ भन्ने मूल नारासहित देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागेको महासंघका महासचिव विमल सारु मगरले जानकारी दिए ।
संविधानले परिकल्पना गरेको समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा समान अवसर मर्मअनुसार आदिवासी जनजातीहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु हालको आवश्यकता रहेको उनले बताए ।
उनकाअनुसार विश्व आदिवासी दिवसको अवसरमा २४ साउनमा देशभरिका आदिवासी तथा जनजातिहरू आफ्नौ मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा परम्पराागत नृत्यसहित काठमाडौंको भृकुटीमण्डपमा सहभागी हुनेछन् ।
भृकुटीमण्डपबाट र्यालीसहित भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताल लगायतका मुख्य सडकको परिक्रमा गरी टुँडिखेलथित खुला मञ्चमा पुगेर मूल समारोहमा परिणत हुनेछ ।
मूल समारोहको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
मूल समारोहमा आदिवासी जनजातिहरूको मौकिल सांस्कृतिक प्रश्तुतीहरु प्रदर्शन गरिने महासचिव मगरले जानकारी दिए ।
यस्तै मौलिक रैथाने परिकार, परम्परागत खाद्य संस्कृति, हस्तकला, स्थानिय उत्पादन लगायतको विक्रीवितरणसहितको प्रदर्शनी हुने उनले बताए ।
कार्यक्रममा विज्ञहरूसंँग आदिवासी जनजातिका सवाल, अधिकार, भाषा, संस्कृति, पहिचान लगायतका विषयमा प्यानल छलफल समेत हुनेछ ।
महासंघले सप्ताहाव्यपी रूपमा विविध कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ । आदिवासी जनजातिहरूको भाषा, संस्कृति, सम्भयता, इतिहास, परम्परागत ज्ञान, भूमि तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध संरक्षण गर्नु राष्ट्रको साझा दायित्व भएको महासंघले बताएको छ ।
महासंघले संविधानमा व्यवस्था भएका समानुपातिक समावेशी प्रतिनिधित्व, समाजिक न्याय, समान अवसर, मातृभाषाको संरक्षण, सांस्कृतिक अधिकार, पहिचान तथा आदिवासी जनजातिहरूको सम्मानजनक सहभागिताको पूर्ण कार्यन्वयन गर्न सरकारसँग माग गरेको छ ।





