ट्रकबाट ६४७ केजी गाँजा बरामद, दुई जना पक्राउ



धनकुटा, साउन २१ गते ।

धनकुटामा ट्रकमा लुकाएर लागुऔषध गाँजा ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३ का २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको सशीदभूमि गाउँपालिका–१ का ३६ वर्षीय तुलराम राई रहेका छन् ।

कोशी लोकमार्ग अन्तर्गत साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकमा आइतबार बिहान विराटनगरतर्फ जाँदै गरेको ना. ३ ख ५०९५ नम्बरको ट्रकबाट ६ सय ४७ किलोग्राम गाँजा बरामद भएको धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

प्रहरीले यसबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

प्रहरीका अनुसार ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएको ४८ वटा पोकामा गाँजा बरामद भएको हो । बरामद भएको ४८ वटा पोका गाँजाको तौल गर्दा ६ सय ४७ किलोग्राम रहेको पुष्टि भएको रञ्जितकारले बताए ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Scroll to Top