काठमाडौं, साउन २२ गते ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेस (बीओपी) मा क्षति पुगेको छ । मानवीय क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार गएराति १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २००/३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो झरेको थियो । पहिरोसँगै ढुंगाहरू उछिट्टिँदा बीओपी परिसरका विभिन्न संरचनामा क्षति पुगेको हो ।
पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्ता र जस्ताको छानामा प्वाल परेका छन् ।
त्यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा र अर्को आंशिक रूपमा क्षतिग्रस्त भएको छ । राष्ट्रिय झण्डा राखिएको पोल पनि पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
बाथरुम, जिन्सी स्टोर भवन तथा मुख्य गेट अगाडिको सिँढीमा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।





