मधेश सरकारले गणेश यादवको परिवारलाई घर बनाइदिने



द पब्लिक टुडे
गौशाला, साउन २२ गते ।

सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनको क्रममा गत साउन १४ गते प्रहरीको गोली लागेर गणेश यादवको परिवारलाई दुई कोठे घर मधेश प्रदेश सरकारले बनाईदिने भएको छ ।

मधेश प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत मृतक गणेश यादवको परिवारका लागि दुई कोठे घर, किचन र शौचालय निर्माण गरिदिने भएको हो ।

मधेश प्रदेश सरकारका शिक्षामन्त्री मनोजकुमार सिंह र मृतकका परिवारबीच शुक्रबार साँझ यससम्बन्धी सहमति भएको हो ।

मन्त्री सिंहका अनुसार आफूले यसअघि नै गणेशको घरमै पुगेर परिवारलाई भेटी संवेदना तथा सान्त्त्वना व्यक्त गरेका थिए । सो क्रममा परिवारको आर्थिक अवस्था कमजोर रहेको पाएपछि प्रदेश सरकारको बैठकमा आवास निर्माणका विषयमा छलफल गरिएको थियो ।

छलफलपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सञ्चालित ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ बाट घर निर्माण गर्ने निर्णय गरिएको मन्त्री सिंहले बताए ।

मृतकका बुवा रामवृक्ष यादव, भौतिक पूर्वाधार कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादव, औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोध्या यादव लगायतको उपस्थितिमा सहमति भएको हो ।

‘प्रदेश सरकारले गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरिसकेको छ । परिवारले घर निर्माणका लागि जग्गा उपलब्ध गराउनेबित्तिकै निर्माण कार्य सुरु हुन्छ,’ सहमतिपछि मन्त्री सिंहले भने ।

Scroll to Top