द पब्लिक टुडे
ढल्केवर, साउन २४ गते ।
धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयास भएको भन्दै स्थानीयले राँके जुलुस निकालेका छन् । ढल्केवरमै ट्रमा सेन्टर निर्माण हुनुपर्ने मागसहित जारी आन्दोलनअन्तर्गत आईतबार साँझ स्थानीय सडकमा राँका बोकेर निस्किएका हुन् ।
गत मंगलबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्यमन्त्री निशा मेहताले मधेश प्रदेशको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि ट्रमा सेन्टर ढल्केवरमै निर्माण गर्नुपर्ने मागसहित स्थानीयहरुले आन्दोलन चर्काएका छन् । ‘एक प्रदेश, एक ट्रमा सेन्टर’को अवधारणा बोकेको सरकारकै मन्त्रीले मधेश प्रदेशको लहानमा ट्रमा सेन्टर बन्ने अभिव्यक्ति दिएपछि स्थानीयहरु सशंकित भएका हुन् ।
ढल्केवरमा निर्माणका लागि अघि बढाइएको ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै केही दिनदेखि जनप्रतिनिधिसहित स्थानीय आन्दोलित छन् । आन्दोलनमा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता, उद्योगी–व्यवसायी तथा नागरिक समाजको समेत सहभागिता हुँदै आएको छ ।
आईतबार राँके जुलुसमा पनि स्थानीयले ट्रमा सेन्टर ढल्केवरबाट सार्न नहुने भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरूले वर्षौंदेखि पहल र संघर्षपछि ढल्केवरमा ल्याइएको योजनालाई राजनीतिक पहुँच र स्वार्थका आधारमा अन्यत्र सार्न खोजिएको आरोप लगाएका छन् ।
यसअघि शनिबार भएको बिरोध ¥यालीमा मेयरदेखि सांसदसम्म सडकमा उत्रिएका थिए । ढल्केवरको विकाससँग जोडिएको महत्वपूर्ण स्वास्थ्य पूर्वाधार अन्यत्र सार्ने प्रयास स्वीकार्य नहुने भन्दै उनीहरूले सरकारलाई निर्णय सच्याउन दबाब दिँदै आएका छन् ।
हाल मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघिय सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो । उक्त योजनाका लागि जग्गा प्राप्तिको प्रक्रिया पनि पूरा भइसकेर लालपूर्जा बनिसकेको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले बताए । शिलान्यासको संघारमा रहेको उक्त योजना स्वास्थ्य मन्त्रीको अभिव्यक्तीले अन्यौलमा परेकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनको भनाइ छ ।
आन्दोलनरत स्थानीयले ट्रमा सेन्टर ढल्केवरवासीको भावना र आवश्यकतासँग जोडिएको विषय भएकाले यसलाई अन्यत्र सार्ने कुनै पनि प्रयासको प्रतिरोध गर्ने चेतावनी दिएका छन् । उनीहरूले माग सम्बोधन नभए आन्दोलन थप सशक्त बनाउने बताएका छन् । सडकदेखि सदनसम्म पुगेको ट्रमा सेन्टरको यो विवाद अब सरकारका लागि समेत गम्भीर दबाबको विषय बन्दै गएको छ ।











