जनकपुरधाम, साउन २६ गते ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गणेश)ले गए राति निधन भएका वरिष्ठ सहित्यकार डा. राजेन्द्र विमललाई घरमै पुगेर श्रद्धाञ्जली दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका १० देवीचोकस्थित निवासमा पुगेर बिमलको पार्थिव शीरमा मल्यार्पण गरी उनले श्रद्धाञ्जली दिएका हुन् । उनीसँगै धनुषा क्षेत्र नं. ३ का निर्वाचित रास्वपाका सांसद मनिष झाले पनि श्रद्धाञ्जली दिएका हुन् ।
वरिष्ठ साहित्यकार बिमलको गएराति ७९ वर्षको उमेरमा निधन भएको थियो । उनको आजै राजकीय सम्मानको साथ जनकपुरको स्वर्गद्वारी स्मसानघाटमा अन्त्येष्टि गरिने तयारी छ।
विमल नेपाली, मैथिली, अंग्रेजी भाषामा थुप्रै साहित्यिक विद्यामा कलम चलाएका छन् । भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नाकोत्तर गरेका थिए । उनी २०२९ सालदेखि नै त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा अध्यापनमा जोडिएका थिए । उनले जगदम्बा श्री पुरस्कार, मधुपर्कलगायत थुप्रै सम्मानबाट विभुषित छन् ।





