खोटाङ, साउन २८ गते ।
खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका नवराज गुरुङ साउन १७ गते लिदिङ खोलाको काठको साँघुबाट भेलमा खसे ।
राखाबांदेलबाट ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कतर्फ जानेक्रममा गुरुङ मक्किएको साँघुबाट बाईकसँगै खोलामा खसेका थिए । वर्षामा उर्लिएको भेलले गुरुङलाई बगाउँदै घुम्ती कटायो ।
बग्दाबग्दै भेलमा हराएपछि सँगैका साथीहरुले मायाँ मारे । तर, करिब तीन सय मिटर तल झरेपछि गुरुङले भेलकोबीचमा रहेको ढुंगा समाए र त्यहीँबाट उद्धारका लागि गुहार गरे ।
खोज्दैआएका साथीभाइले तानेर खोलाबाट निकाले । गुरुङको क्षतीग्रस्त प्रदेश १–०५–००१ प २९०५ नम्बरको बाइक अहिले खोलाकै किनारमा छाडिएको छ । गुरुङ उपचारका लागि जिल्ला अस्पताल हुँदै काठमाडौं पुगेका छन् ।
ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क र ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलको सिमानामा पर्छ लिदिङ खोला । राखाबांदेलबाट गाउँपालिकाको केन्द्र र ऐसेलुखर्क बजार जानआउन त्यही खोला पार गर्नुपर्छ । तर, सो स्थानको मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा वर्षेनी नवराज गुरुङहरुले सास्ती खेपिरहेका छन् ।
वारिपारि कच्ची सडक बनिसकेको छ तर पुल नहुँदा चार पांग्रे गाडी वारपार गर्ने अवस्था छैन । पैदल तथा बाइक वारपार गराउन काठको साँघु निर्माण गरिएको छ । मक्किएको साँघु भाँचिएर पटक(पटक दुर्घटना निम्तिने गरेको छ । लिदिङ खोला पुल निर्माण नहुँदा वडाबासीलाई उपभोग्य सामान ओसार्न कठिन भइरहेको राखाबाङ्देलका वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताए ।
लिदिङ खोलामा २०७९ भदौ २४ गतेभित्र २६।२० मिटर लम्बाई भएको पुल बनाउनेगरि २०७७ फागुन २८ गते ठेक्का लगाइएको थियो । तर, निर्माण कम्पनी पुष्पाञ्जली जिम्बा जेभीको ढिलासुस्तीका कारण हालसम्म पुल बन्न नसकेको हो ।
निर्माणस्थलमा पुलको दुई वटा पिलर ठडिएको देखिन्छ । कामको गुणस्तरमाथि पनि प्रश्न उठेको थियो । पुल निर्माणका लागि पाँचौं पटक थप भएको म्याद आगामी पुस ३० गते सकिंदैछ । बाँकी काम सम्पन्न गर्नका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २ करोड १० लाख बिनियोजन गरेको छ ।
थप भएको म्यादभित्र स्ल्याव ढलान गरेर पुलको काम सम्पन्न गर्ने निर्माण व्यवसायी डेबिट राईले बताए । लिदिङ खोलामा ४ करोड ६ लाख ६५ हजार ९३४ रुपैयाँमा पुल बनाउने लागत अनुमान गरिएको थियो । तर, पुष्पाञ्जली जिम्बा जेभीले ३ करोड २० लाख १८ हजार ९१० रुपैयाँमा ठेक्का पारेको हो । हालसम्म निर्माण व्यवसायीले एक करोड १४ लाख २८ हजार ४२७ रुपैयाँ भुक्तानी लिइसकेको छ ।
प्रदेश सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा लिदिङ खोला पुल बनाउनेगरि ठेक्का लगाइएको थियो तर सुरुमै काम नभएपछि प्रदेश सरकारको ५० लाख बजेट फ्रिज भएर गएको थियो ।
सोही कारण पुल निर्माणको व्यायभार गाउँपालिका एक्लैले खेप्दैआएको गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले बताए । पुल सम्झौताकोबेला बिश्वनाथ निरौला गाउँपालिका अध्यक्ष र पुष्पकला भुजेल उपाध्यक्ष थिए ।





