द पब्लिक टुडे
बर्दिबास, साउन ३१ गते ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित प्रसिद्ध टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा–अर्चना गरेका छन् । साउन महिनामा देशका विभिन्न स्थानसँगै भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु आउने टुटेश्वरनाथमा आईतबार मन्त्री पौडेलले भगवान् शिवको पूजा गरी दर्शन गरेका हुन् ।
मन्त्री पौडेलको ‘मधेशको कैलास’ तथा ‘नेपालको बाबाधाम’का रूपमा पहिचान बनाएको टुटेश्वरधाम आगमनका अवसरमा टुटेश्वरनाथ मन्दिर संरक्षण समितिले मन्दिर क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वबारे जानकारी गराउँदै यसको संरक्षण र समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिका अध्यक्ष राजाराम यादवले मन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै टुटेश्वरनाथलाई राष्ट्रिय सम्पदाका रूपमा स्थापित गर्न पहल गर्न आग्रह गरेका छन् । समितिले टुटेश्वर क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रसँगै प्रागऐतिहासिक तथा पुरातात्विक अध्ययन–अनुसन्धानको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ ।
टुटेश्वरनाथ मन्दिरमा साउन महिनामा लाखौँ श्रद्धालु आउने गरेका छन् । नेपालका विभिन्न जिल्लाबाट आउने भक्तजनसँगै भारतको बिहारलगायत स्थानबाट समेत ठूलो संख्यामा श्रद्धालु आउने भएकाले तीर्थयात्रीका लागि आवश्यक पूर्वाधार निर्माण गर्न समितिले सरकारसँग आग्रह गरेको छ ।
विशेषगरी जङ्गलको बाटोमा व्यवस्थित प्रतीक्षालय, शौचालय, खानेपानी, विश्रामस्थल, सरसफाइ, प्रकाश, सूचना केन्द्र तथा आकस्मिक स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्ने समितिको माग छ ।
समितिले टुटेश्वरनाथ क्षेत्रको दीर्घकालीन विकासका लागि मास्टर प्लान र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी योजनाबद्ध रूपमा काम अघि बढाउनसमेत सरकारसँग माग गरेको छ ।

टुटेश्वर क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सके यस क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ । मन्त्री पौडेलको टुटेश्वरधाम भ्रमणले यस क्षेत्रको धार्मिक पर्यटन, संरक्षण र पूर्वाधार विकासका विषयलाई संघीय सरकारको प्राथमिकतामा ल्याउने अपेक्षा गरिएको छ ।
पूजा–अर्चनापछि मन्त्री पौडेलले टुटेश्वरनाथ मन्दिरको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वबारे चर्चा गर्दै यसको संरक्षण र विकासमा सरकारको ध्यान जाने बताएका छन् ।
उनले टुटेश्वर क्षेत्रलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण तथा प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए । मन्दिरको ऐतिहासिक तथा पुरातात्विक महत्वको अध्ययन, संरक्षण र प्रवद्र्धनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी काम अघि बढाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।






