जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री



सुर्खेत, साउन ३१ गते ।

कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित परिवारलाई राहत सामग्री पठाएको छ । प्रदेश सरकारले आज खाद्यान्नसहित आवश्यक बन्दोबदस्तीका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो ।

एक सय ५० थान त्रिपाल, कम्बल ३५० थान, बल्याङ्केट १८५ थान, टेन्ट २० सेट, पिफर्म, प्लास्टिक, चार क्विन्टल चामल, २०० प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटबाट माग भइ आए अनुरुप राहत सामग्री पठाइएको सचिव विकले बताए । उनका अनुसार १० जिल्लालाई पुग्ने गरी प्रदेश आपतकालीन केन्द्रमा भण्डारण गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विपद् प्रतिकार्य, खोज उद्धार तथा राहतका लागि एक हप्ता अघि नै भर्चुअल बैठकबाट तयारी अवस्थामा रहन निर्देशन दिएको बताए । अहिले जाजरकोटमा पहिरोमा हराइरहेकाहरुको खोज तथा उद्धार गर्न र विस्थापित परिवारका लागि लागि प्रशासनसहित नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनासहित सुरक्षा जनशक्ति परिचालन गरिएको सचिव विकले बताए ।

राहत तथा पुनःस्थापनका लागि सङ्घ, कर्णाली प्रदेश सरकार र स्थानीय तह मिलेर काम गर्दा त्यसले नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने उनको भनाइ थियो ।

Scroll to Top