धर्नामा बसेकाहरूको स्वास्थ्य, सुरक्षा र बसोबासमा ध्यान दिन आयोगको आग्रह



काठमाडौँ, भदौ ३ गते ।

बैंक, लघुवित्त, सहकारी, मिटरब्याज प्रभावित तथा भूमिहीन सुकुमबासीहरूले विभिन्न माग राखेर पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयअगाडि सडकपेटीमा धर्ना दिइरहेकोप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ।

विगत पाँच दिनदेखि भइरहेको धर्नाको निरन्तर अनुगमन गर्दै आयोगले उनीहरूका समस्यालाई नजिकबाट नियालिरहेको स्पष्ट पारेको हो।

समस्या समाधानका लागि नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका तर्फबाट वार्ता टोली गठन हुनुलाई आयोगले सकारात्मक रूपमा लिएको छ।

लामो समय सडकपेटीमा बस्दा धर्नामा सहभागी महिला, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने र सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ।

प्रदर्शनरत नागरिकलाई उचित स्थानमा स्थानान्तरण गरी उनीहरूको स्वास्थ्य उपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन आयोगले नेपाल सरकारसँग आग्रह गरेको छ।

वार्ता प्रक्रियालाई निरन्तरता दिन आग्रह गर्दै आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलले भने, ‘हरेक समस्याको समाधान वार्ता र संवादबाटै सम्भव भएकाले दुवैतर्फका वार्ता समितिले संवादलाई निरन्तरता दिई वार्ताकै टेबलबाट समस्याको समाधान निकाल्नुपर्छ।’

Scroll to Top