काठमाडौं, भदौ ५ गते ।
नेपाली भाषा (खस भाषा)को उद्गमस्थान जुम्लाको सिँजामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ ।
कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा शुक्रबारदेखि फोरजी सेवा सुरु भएको हो ।
नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो ।
नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं. ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोरजी सेवा उपलब्ध हुनेछ । उक्त टावरबाट गौरी, ओखरवाडा, हाट सिँजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गालगायतका क्षेत्रमा सेवा पुग्नेछ ।
टावर सञ्चालनका लागि हाल सोलार ब्याट्री प्रयोग गरिएको छ । टावर स्थापना भएको दुई महिनाभन्दा बढी समय भएपनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण सेवा सञ्चालनमा ढिलाइ भएको कार्यालयप्रमुख पुजाराले बताए ।
राष्ट्रिय प्रसारणलाइनबाट विद्युत् जडान गर्न नसकेपछि तत्कालका लागि सोलार प्रणालीमार्फत टावर सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।





