बागलुङ, भदौ १० गते ।
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डको सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको १० वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन।
बागलुङ सदरमुकाम खण्डमा पुनः नयाँ ठेक्का लगाउने तयारी गरिएको छ ।
दुई वर्षमा कालोपत्र सम्पन्न गर्ने गरी भारतरसिद्धिसाई जेभीसँग गरिएको सम्झौता तोडिएपछि पुन ठेक्काको प्रक्रिया अगाडि बढेको छ।
गत पुस १७ गते ठेक्का सम्झौता रद्द गरिएको आयोजनाको पुनः ठेक्का लगाउने प्रक्रिया सुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी उज्ज्वल शर्माले जानकारी दिए।
५ पटक म्याद थप गर्दा पनि काम सम्पन्न नगर्ने ठेकेदारको सम्झौता रद्द गरी असुल उपरको प्रक्रिया सुरु गरिएको छ। नयाँ ठेक्का सम्झौताको मूल्यांकन, लागत अनुमानको प्रतिवेदन र स्रोत सुनिश्चितताका लागि राष्ट्रिय योजना आयोगमार्फत अर्थ मन्त्रालय पठाइएको छ।
पछिल्ला दिनमा सो सडक झनै जीर्ण बन्दै गएको छ। सो सडकखण्ड भएर यात्रा गर्ने यात्रुले बर्षामा हिलो र हिउँदमा धुलोको सास्ती खेप्नु परेको छ।
ठेक्का रद्द गरिएको सडकको अवस्था झनै बिग्रँदै गएको छ भने सम्पन्न भएको पूर्वाधारमा पनि क्षति पुगेको छ।
‘पुरानो ठेकेदारले गरेको काम र नयाँ ठेक्कामा थप्नुपर्ने पूर्वाधारलगायतको अध्ययन प्रतिवेदनसहित करिब २५ करोडको स्रोत सुनिश्चतताका लागि अर्थमन्त्रालयमा प्रस्ताव गरिएको छ,’ इन्जिनियर शर्माले भने।
ठेक्का रद्द गरिएको ठेकदारबाट ९ करोड ३६ लाख असुल उपर गर्नुपर्ने अध्ययन प्रतिवेदनले देखाएको छ।
‘नयाँ ठेक्का छिट्टै खोल्ने तयारीमा छौँ, सम्भवतः चार महिनाभित्र पूरा होला,’ इञ्जिनियर शर्माले भने।
बागलुङ–बिहुँ खण्डको १३ किलोमिटर सडक २०७३ साल माघ १४ गते भारत/सिद्धिसाईसँग दुई वर्षमा सक्नेगरी ४३ करोड ६५ लाखमा सम्झौता भएको थियो।
ठेकेदारले ३४ करोड तीन लाख भुक्तानी लिइसकेको छ।
वर्षाका कारण सडक झनै बिग्रेको छ भने कालोपत्र गरेको क्षेत्रमा खाल्डाखुल्डी परेको छ।





