सिरहा, भदौ १९ गते ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सिरहाका पाँच स्थानीय तहले ५१ लाखभन्दा बढी सहयोग गर्ने भएका छन्।
मिर्चैया नगरपालिकाले २५ लाख ५८ हजार, लहान नगरपालिकाले ११ लाख, गोलबजार नगरपालिकाले ५ लाख ५५ हजार ५५५, कल्याणपुर नगरपालिकाले ५ लाख र सिरहा नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
यससँगै यी पाँच स्थानीय तहबाट मात्रै भोटेकोशी बाढीपीडितका लागि ५१ लाख १३ हजार ५५५ रुपैयाँ सहयोग हुने भएको छ।
स्थानीय तहहरूले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को कठिन घडीमा प्रभावित परिवारको तत्काल उद्धार, आवश्यक राहत तथा सुरक्षित पुनर्स्थापनालाई प्राथमिकता दिँदै स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको जनाएका छन्।





