दलित बालबालिकाको शिक्षा र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड



जनकपुरधाम, भाद्र २२ गते ।

दलित बालबालिकाको शिक्षा, अधिकार तथा सामाजिक सुरक्षाका सवालमा राज्यका निकाय र समुदायबिच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

दलित महिला सङ्घ धनुषाले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘दलित बालबालिकाका सबाल र सरोकारवाला निकायको भूमिका’ विषयक कार्यक्रममा सहभागी वक्ताले दलित बालबालिकालाई विद्यालयमा नियमित गराउन, विभेद अन्त्य गर्न तथा समान अवसर उपलब्ध गराउन स्थानीय तहदेखि राज्यका सबै निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले कुनै पनि विद्यार्थी विद्यालयबाहिर रहन नहुने बताए
। उनले उपमहानगरपालिकाका तीन वडामा अनौपचारिक शिक्षा सञ्चालन भइरहेको जानकारी दिँदै विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन स्थानीय तहले पहल गरिरहेको बताए ।

नगरप्रमुख साहका अनुसार जनकपुरधाममा अझै करिब ६०० बालबालिका विद्यालयबाहिर रहेको तथ्याङ्क रहेकाले उनीहरूलाई विद्यालयमा ल्याउन विशेष पहल भइरहेको छ ।

दलित महिला सङ्घ धनुषाका अध्यक्ष सरस्वती मण्डलले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले बालबालिकालाई सकारात्मक प्रयोगबारे सचेत गराउनुपर्ने बताए। उनले बालबालिकालाई पढाइतर्फ आकर्षित गर्न परिवार, विद्यालय र समुदायले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रिंकुकुमारी साहले दलित बालबालिकालाई पहिचानका आधारमा नभई समान नागरिकका रूपमा हेर्ने सोचको विकास आवश्यक रहेको बताइन् ।

आसमान नेपालका सुजिता ठाकुरले दलित समुदायका बालबालिकामा विद्यालय छाड्ने प्रवृत्ति अझै रहेको बताउँदै यसको प्रमुख कारणमध्ये अभिभावकमा शिक्षाको महत्वबारे पर्याप्त जानकारी नहुनु र विद्यालयमा हुने विभेद रहेको उल्लेख गरिन् ।

कार्यक्रममा बाल क्लबकी प्रतिनिधि पत्रिकाकुमारी महरा र चाहतकुमारी दासले बालबालिकामाथि हुने हिंसा तथा विभेद अन्त्य गर्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताइन् ।

कार्यक्रममा वक्ताहरूले दलित बालबालिकालाई शिक्षामा समान पहुँच, विद्यालयमा विभेदरहित वातावरण, सीपमूलक शिक्षा तथा बालअधिकारको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको धारणा राखेका थिए ।

Scroll to Top