नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका निर्णयहरू यस्ता छन्



काठमाडौँ, भाद्र २२ गते ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशको पछिल्लो बाढी–पहिरो सङ्कट, उद्धार, राहत र सञ्चार क्षेत्रका समसामयिक विषयमा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । पार्टी सभापति गगन कुमार थापाको सभापतित्वमा ललितपुरस्थित बी।पी। स्मृति भवनमा भदौ २१ गतेदेखि दुई दिनसम्म चलेको बैठकले विशेषगरी भदौ १० गतेको भोटकोशी–त्रिशूली बाढीबाट सिर्जित सङ्कट र जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकले विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा भएको ठुलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितको घाउमा मलम लगाउन कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरिसकेको जानकारी दिएको छ ।

विशेषगरी माथिल्लो त्रिशूली–१ र रसुवागढी लगायतका जलविद्युत् आयोजनाका सुरुङमा फसेका इन्जिनियर र श्रमिकहरूको उद्धारलाई सामान्य विपद् प्रतिकार्यका रूपमा मात्र नलिन कांग्रेसले सरकारलाई आग्रह गरेको छ । यसका लागि नेपाली सेना र विज्ञहरूको समन्वयमा ‘बहु–विषयगत प्राविधिक अभियान’ चलाएर प्रत्येक सुरुङका लागि छुट्टाछुट्टै उद्धार योजना बनाउनुपर्ने निर्णय बैठकले गरेको छ ।

सडक पूर्वाधार र आपूर्तिका सन्दर्भमा कांग्रेसले अवरुद्ध पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग तत्काल सञ्चालनमा ल्याउन ‘आपत्कालीन सडक पुनः स्थापना कार्यदल’ गठन गर्नुपर्नेमा जोड दिएको छ । बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्दा विभिन्न संघ–संस्थाको सहयोगलाई प्रभावकारी बनाउन ‘एकद्वार प्रणाली’ लागू गर्नुपर्ने र प्रभावित परिवारलाई त्रिपाल, खाद्यान्न तथा औषधि युद्धस्तरमा उपलब्ध गराउनुपर्ने कांग्रेसको ठहर छ ।

यसका साथै बाढी–पहिरोपछिको खोज, उद्धार र दीर्घकालीन पुनः स्थापनाका लागि नीतिगत सुझाव तयार पार्न केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन समितिसमेत गठन गरिएको छ, जसले सात दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनेछ ।

पार्टीले सञ्चार क्षेत्रमा देखिएका समस्याप्रति पनि गम्भीर चासो देखाएको छ। निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका निर्णय र लोककल्याणकारी विज्ञापनको कार्यविधिमा गरिएको परिवर्तनले प्रेस स्वतन्त्रता र लोकतन्त्रलाई कमजोर पार्ने भन्दै कांग्रेसले ती निर्णयहरू तत्काल पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ। विज्ञापन वितरणमा पारदर्शिता र निष्पक्षता कायम गर्नुपर्नेमा बैठकले विशेष जोड दिएको छ ।

बैठकको अन्त्यमा, कांग्रेसले सरकारका सकारात्मक कदमलाई समर्थन गर्ने तर त्रुटिपूर्ण निर्णयहरूमा सशक्त खबरदारी गरिरहने स्पष्ट पारेको छ । प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्ति अनुसार, विपद्को यस घडीमा पार्टीका सम्पूर्ण पङ्क्ति र भ्रातृ संस्थाहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन समेत दिइएको छ ।

Scroll to Top